जब प्रहरीलाई घेरा हालेर पेस्तोल लुटियो...
मोरङ र सुनसरीमा लगातार लूटपाट मच्चाइरहेको समूहले जब प्रहरीकै पेस्तोल लुट्यो, अनि मात्रै समातिएको छ।
सुनसरीमा भदौ २१ गते राति सादा पोशाकमा रहेका प्रहरीको पेस्तोल लुटेपछि पेशेवर लूटेरा समूह पक्राउ परेको छ। इलाका प्रहरी कार्यालय, दुहबीबाट सादा पोशाकमा सूचना सङ्कलन गर्न राति हिंडेका दुई प्रहरीलाई बर्जु गाउँपालिकामा यो समूहले घेरा हालेको थियो।
प्रहरीले बोकेको पेस्तोल नपड्किएपछि लूटेरा समूह पेस्तोल खोसेर भागेको थियो। एक प्रहरीले भने, “पेस्तोल पड्किएको भए लूटेरा समूहका केही मारिन्थे, नपड्किएकाले खोसे।’
लूटेरा समूहसँग पनि कटुवा पेस्तोल थियो। उनीहरूले सादा पोशाकका प्रहरीलाई कुटपिट गरेर साथमा भएको पैसा र मोबाइल पनि लुटेका थिए। प्रहरी आफैं लुटिएपछि चारैतिरबाट खोजीमा लागेको प्रहरीले मोरङको बुढीगंगा-५ बाट सात जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार भदौ २२ गते राति साढे ११ बजे बुढीगंगा-५ कोयलपुरस्थित नहरमा तीन जनालाई एक समूहले लूटपाट गर्न खोजेको सूचना आएको थियो। लगत्तै खटिएको प्रहरीले नियन्त्रणमा लिएका व्यक्ति नै प्रहरीको पेस्तोल लुट्ने समूह भएको खुलेको थियो। प्रहरीले पेस्तोल र लूटेराले प्रयोग गर्ने कटुवा पेस्तोल बरामद गरेको छ।
यो समूहका सदस्य सुनसरीको दुहबी-४ का ३२ वर्षीय नसुदिन मिया, दुहबी-१ का ३० वर्षीय अलिम मुर्तुजा, बुढीगंगा-४ का ४० वर्षीय रिजवान मिया र रिजाम आलम, बुढीगंगा-५ का २१ वर्षीय नजरुल मिया र भारतीय नागरिक दुहबी-६ मा बस्ने ४० वर्षीय मोहम्मद आलमलाई पक्राउ गरिएको डीएसपी दाहालले बताए। उनीहरू यो महीनामै एक दर्जनभन्दा बढी लूटपाटका घटनामा संलग्न भएको पाइएको प्रहरीको भनाइ छ।
भदौ २ गते राति मोरङको ग्रामथान गाउँपालिकामा मोटरसाइकलमा सवार दुई जनाबाट गहना, नगद र मोबाइल लुटिएको थियो। भदौ ३ गते राति पाँच जना यात्रीबाट मोबाइल र नगद लुटिएको थियो। यस्तै, भदौ ३ गते नै ग्रामथानमा मोबाइल र पैसा, भदौ ५ गते दुहबी-५ बाट गहना र मोबाइल, भदौ ९ गते ग्रामथान-५ बाट नगद र मोबाइल, भदौ १२ गते दुहबी-१० बाट नगद, गहना र रकम लुटिएको प्रहरीमा उजुरी आएको थियो।
त्यसैगरी, सुनसरीको गढी गाउँपालिका-२ बाट ट्रक नियन्त्रणमा लिएर एक लाख ७१ हजार र दुई वटा मोबाइल लूटपाट भएको थियो। भदौ १५ गते मोरङको बेलबारी-२ बाट नगद र मोबाइल, भदौ २१ गते सुनसरीसँग जोडिएको विराटनगरको सीमा क्षेत्रका दुई स्थानमा लूटपाट भएको थियो।
यी सबै लूटपाटका घटनामा यो समूह संलग्न रहेको प्रहरीले जनाएको छ। यो समूहले राति ११ देखि बिहान ४ बजेसम्म लूटपाट गर्ने गरेको पाइएको प्रहरी उपरीक्षक दीपक पोखरेलले बताए। यो समूहलाई समाउने आठ जना प्रहरीलाई रेकर्डमा रहने गरी पुरस्कृत गरिएको पोखरेलले बताए।
राति सडकमा ठूलो प्रकाश दिने टर्च बालेर सवारीसाधन रोक्ने गरेका उनीहरूले पेस्तोल देखाएर यात्रीका साथमा रहेका गहना, नगद र मोबाइल लिने गरेका थिए। टर्च बालेर सवारीसाधन रोक्दा प्रहरीको चेकिङ होला भन्दै यात्री रोकिने गरेको प्रहरीको भनाइ छ। प्रहरीले लूटेरा समूह खोज्न ‘अप्रेशन सेरा ब्राभो हन्ट’ अभियान नै चलाएको थियो।
लूटेरा नाइके रिजवान
लूटेरा समूहको नेतृत्व मोरङको बुढीगंगा गाउँपालिका-४ का ४० वर्षीय रिजवान मिया भएको प्रहरीले जनाएको छ। रिजवान १६ वर्षदेखि आपराधिक गतिविधिमा संलग्न रहेको पाइएको पोखरेलले बताए। उनी विभिन्न मुद्दामा जेल बसिसकेका छन्।
रिजवानले मोरङ र सुनसरीमा मात्रै २०६४ देखि २०७९ को १५ वर्षमा १० वटा आपराधिक घटना गराएको प्रहरीको रेकर्डमा छ। उनी विरुद्ध डाका, ज्यान, चोरी, हातहतियार तथा खरखजाना, ज्यान मार्ने उद्योग जस्ता मुद्दा चलिसकेको प्रहरीको भनाइ छ। २०६४ सालमा डाका मुद्दा र २०६५ सालमा डाका तथा ज्यान मुद्दा लागेपछि उनी फरार थिए।
२०७० सालमा उनी हातहतियार मुद्दामा जेल परेका थिए। जेलमा हुँदा विभिन्न अपराधमा संलग्न व्यक्तिको सङ्गतबाट उनी थप आपराधिक कार्यतर्फ दुरुत्साहित भएको बुझिएको छ। जेलबाट निस्किएपछि रिजवानले समूह बनाएर लूटपाटलाई पेशाकै रूपमा अपनाएको पाइएको छ।