गोरखा दरबारको आँगनमा टहल्ने ‘पृथ्वीनारायण’
पृथ्वीनारायण शाहको निधन भएको अढाई सय वर्षपछि गोरखा दरबारको आँगनमा दिनभर टहलिरहने एक तन्नेरीले पृथ्वीनारायणकै झल्को दिइरहेका छन्।
दौरा-सुरुवालमा कसिएको पटुकी। त्यसमै भिरेको खुकुरी। बायाँ हातमा तरबार। शिरमा चम्किलो श्रीपेच। आकाश ताकिरहेको दायाँ हातको चोर औंला।
काटिकुटी राजा पृथ्वीनारायण शाहकै झल्को दिने तन्नेरी गोरखा दरबारको आँगनमा टहलिरहन्छन्। स्थानीय त अभ्यस्त भइसके, आगन्तुक भने उनीसँगै फोटो खिचाउन र सेल्फी लिन उत्सुक हुन्छन्। पहिलो पटक देख्नेहरू त फ्याट्ट भनिहाल्छन्, ‘ओहो, पृथ्वीनारायण शाह!’
दिनभर राजा पृथ्वीनारायण शाहकै वेशभूषामा देखिने उनी अर्थात् होमबहादुर उपरकोटी भन्छन्, “बडामहाराजाधिराज जस्तै बनेर बस्दा राम्रै लागेको छ।” ४० वर्षीय होमबहादुरको काम नै दिनभर पृथ्वीनारायणको पहिरन लगाएर बस्ने नै हो।
यसका लागि उनी हरेक दिन गोरखा नगरपालिका-२ शिखरबाट १५ किलोमिटर बाइकमा यात्रा गरेर गोरखा दरबार आइपुग्छन्। बिहान १० देखि साँझ ५ बजेसम्म यही ठूलो आँगनमा ओहोरदोहोर गरिरहन्छन्। “गोरखाकाे स्थानीय संस्थाले मलाई पृथ्वीनारायण शाह बन्ने काम दिएको छ,” उनी भन्छन्।
यसअघि उनी नेपाल प्रहरीमा थिए। प्रहरीको जागीरले उनलाई कहिले कता पुर्यायो, कहिले कता। घरपरिवारसँग त्यति समय बिताउनै पाएनन्। छोराछोरी ठूला भए। त्यसपछि घरमा एक्ली जहानलाई सघाउन प्रहरीबाट अवकाश लिए।
तीन वर्ष जति घरमै खेतीपाती गरेर बसेका उनले गत वर्षदेखि राजा बन्ने नयाँ जागीर पाएका हुन्। उनी २०७९ फागुन १७ गतेदेखि पोखरीथोकमा रहेको दरबार संग्रहालय अगाडि पृथ्वीनाराण शाह बनेर टहलिरहेका छन्।
गोरखाको ऐतिहासिक संरक्षण विकास समितिले उनलाई यो काम दिएको हो। स्थानीय अगुवाले गोरखाका ऐतिहासिक सम्पदा संरक्षण गर्न २०६२ सालमा यो समिति गठन गरेका थिए। “यो विशुद्ध सामाजिक संस्था हो, यसको उद्देश्य गोरखाको ऐतिहासिक धरोहरको संरक्षण गर्दै संस्कृति र पर्यटन प्रवर्द्धन गर्नु हो,” अध्यक्ष सुरेशमान श्रेष्ठ भन्छन्।
अध्यक्ष सुरेशमान गोरखाको पहिचानका लागि पृथ्वीनारायण शाहको पहिरनमा बस्न लगाइएको बताउँछन्। “घलेगाउँ जाँदा स्थानीय वेशभूषामा फोटो खिचाइन्छ। गोरखामा पनि राष्ट्रिय पोशाकमा फोटो खिचाउने कि भन्ने सल्लाह हुँदै गर्दा पृथ्वीनारायणको प्रतिविम्ब बनाउने कुरा आयो,” सुरेशमान सम्झिन्छन्।
त्यसपछि समितिले कलाकार ओम श्रेष्ठसँग पृथ्वीनारायण जस्तै बनेर बस्न सहमति गरेको थियो। उनी व्यक्तिगत कामले नसक्ने भएपछि होमबहादुरले मौका पाएका हुन्। ओम पृथ्वीनारायण शाह बनेर बस्दा होमबहादुर कालु पाँडे बनेका थिए। “यो काम मैले पैसाका लागि गरेको होइन,” उनी भन्छन्, “समितिको उद्देश्य सफा लाग्यो र मैले जोडिन चाहें।”
दिनभर पृथ्वीनारायण शाहको पहिरनमा बस्दा पनि उनलाई दिक्क लागेको छैन। यो कामले उत्साहित बनाइरहेको उनी सुनाउँछन्। पृथ्वीनारायण शाह बनेको छोराहरूले मन नपराए पनि पत्नी भने खुशी नै रहेको उनी बताउँछन्। “बिहान श्रीमतीलाई घरधन्दामा सघाउँछु, दिउँसो राजा बन्न आउँछु,” होमबहादुर भन्छन्, “दुई-चार जोडी ब्राखा, भैंसी पालेको छु। बेलुका ड्यूटी सकेर घाँस काट्न घरै पुग्छु।”
उनका दुई दाजु तराई झरे। एउटा भाइ नेपाली सेनामा कार्यरत छन् भने अर्को भारततिर। उनलाई पनि दाजुहरूले तराईतिर आउन भनेका थिए, तर पुर्ख्यौली थलोमै बस्न मन लागेको सुनाउँछन्। “जागीर छोड्दा आएको पैसाले दुई हल खेत किनेको छु। धान लगाएको छु। भात खान दुःख छैन, किन गाउँ छोड्नु?” होमबहादुर भन्छन्।
गोरखा दरबार संग्रहालयको आँगन पनि उनका लागि आफ्नै घरको जस्तो भइसकेको छ। यो आँगनमा २०७९ भदौ ९ मा पृथ्वीनारायणको शालिक स्थापना गरिएको थियो। शालिकसँगै नेपालको झन्डा पनि राखिएको छ। बिहान-बेलुका सेनाको टुकुडीले बाजागाजा सहित झन्डोत्तोलन र विजयी सलामी दिन्छ। बिहान १० बजेपछि होमबहादुरको ड्यूटी शुरू हुन्छ।
गोरखा दरबार संग्रहालय मात्रै होइन, यो गाउँको नाम पनि ऐतिहासिक घटनाहरूसँग जोडिएको छ। हाल संग्रहालय रहेको स्थानभन्दा डेढ सय मिटर पश्चिममा राजा राम शाहले एउटा पोखरी बनाउन लगाएका थिए। पोखरीको नाम रानीपोखरी थियो। अहिले गोरखा नगरपालिका-६ मा पर्ने यो पोखरीलाई पुष्करतीर्थ पनि भनिन्छ। त्यही पोखरीको नामले यो ठाउँको नाम पोखरीथोक रहन गयो।
कुनै वेला गोरखाको केन्द्र थियो, पोखरीथोक। त्यहाँ अवस्थित गोरखा दरबार संग्रहालयले फेरि पर्यटक भित्र्याउन सघाइरहेको छ। ३० वर्गमिटरमा फैलिएको दरबार मध्ययुगीन प्यागोडा शैलीमा बनेको छ। कलात्मक टुँडाल र आँखीझ्याल, स्वस्तिक चिह्न, देवीदेवता तथा गरुड-कलश अङ्कित द्वारपाल छन्।
पृथ्वीनारायण शाहले नेपाल एकीकरणपछि राजधानी काठमाडौंमा सारेपछि राजा राजेन्द्रविक्रम शाहको पालामा राजकीय निवासका लागि यो दरबार बनाइएको थियो। यही दरबारमा राणाकालमा जिल्लाको प्रमुख प्रशासकीय अड्डा थियो। दरबारलाई पुरातत्त्व विभागले २०४९ सालमा जीर्णोद्धार थालेको थियो।
तत्कालीन गोरखा राज्यसँग संलग्न ऐतिहासिक, पुरातात्त्विक, धार्मिक र सांस्कृतिक महत्त्वका सामग्रीको खोजी, सङ्कलन, संरक्षण र प्रदर्शन गर्ने उद्देश्यले २०६५ जेठ १९ मा दरबार संग्रहालय खुला गरिएको हो। बगैंचा, बाल उद्यान, विश्रामस्थल सहित ६८ रोपनीमा फैलिएको संग्रहालयमा विभिन्न प्रदर्शनी कक्ष छन्।
गोरखा घुम्न आउने सबैजसो मानिस संग्रहालय पुग्छन्। संग्रहालय बाहिरको आकर्षण बनेका छन् होमबहादुर। “कतिले टिकटक बनाउँछन्। फोटो खिच्छन्। सबैले मन पराउँछन्,” उनी भन्छन्।
उनीसँग फोटो खिचाउनेबाट आम्दानी पनि भइरहेको छ। फोटो खिचाउने, टिकटक बनाउनेहरूले नजिकै रहेको चन्दा बाकसमा सहयोग गर्छन्। यसरी गरिएको सहयोग महीनामा ३० हजार हारहारी हुन्छ।
यही आँगन भएर बिहान-बेलुका स्कूल बस गुड्छन्। स्कूले बालबालिका ‘पृथ्वीनारायण अंकल’ भन्दै हात हल्लाउँछन्। यसले पनि रमाइलो लाग्ने गरेको उनी सुनाउँछन्।
प्रहरी हवल्दारबाट सेवानिवृत्त होमबहादुरले महीनामा १५ हजार रुपैयाँ पेन्सन पाउँछन्। यो कामका लागि पनि मासिक १५ हजार पाउँछन्। “समितिले इतिहास जोगाउने योजना बनाएको छ। यसमा मेरो तर्फबाट पनि केही योगदान होला कि भनेर लागेको छु,” उनी भन्छन्।
यो कार्यले पृथ्वीनारायण शाह र उनको योगदान स्मरण गर्न सघाउ पुग्ने समितिका अध्यक्ष सुरेशमानको भनाइ छ। “टुक्रिंदै टुक्रिंदै ५२ वटाभन्दा बढी राज्यमा खण्डित देशलाई पृथ्वीनारायणले एकीकरण गरेकाले नै उनलाई सम्झनु र श्रद्धा गर्नुपरेको हो,” श्रेष्ठ भन्छन्।
१७७९ पुस २७ मा जन्मिएका पृथ्वीनारायण २० वर्षको उमेरमा गोरखा राज्यका राजा बनेका थिए। ५२ वर्षको उमेरमा १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा उनको निधन भएको थियो। रोग लागेर थलिएपछि उनले उपदेश दिएका थिए जसलाई दिव्योपदेश भन्ने गरिन्छ।
कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लको आग्रहमा गोरखाली सेनासँग युद्ध लड्न आएका इस्ट इन्डिया कम्पनीका किन्लक नेतृत्वको फौजले सिन्धुलीगढीमा हार बेहोरेको थियो। त्यस्तै, काठमाडौं उपत्यका प्रवेश गर्न आएको मीर कासिमको फौजलाई पनि पराजित गरेका थिए। “किन्लक र मीर कासिमको फौजले जितेको भए नेपालको इतिहास अर्कै हुन्थ्यो,” उनी भन्छन्, “त्यसैले पृथ्वीनारायण शाहसँग सम्बन्धित सबै कुराको संरक्षण, संवर्द्धन गर्न जनस्तरबाट आवाज उठाइरहेका छौं। त्यसैको प्रतीकात्मक रूपमा पृथ्वीनारायण बनाएर राख्ने गरेका हौं।”