मैले कहिलेसम्म सरकारको नेतृत्व गर्छु भन्ने थाहा छैन: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले आफू कहिलेसम्म सरकारको नेतृत्व गर्छु भन्ने थाहा नभएको बताएका छन्।
बागमती प्रदेशको राजधानी हेटौंडामा समाजवादी मोर्चाको आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारकाे नेतृत्वको विषयमा अनविज्ञता प्रकट गरेका हुन्।
जति दिन सरकारको नेतृत्व गरे पनि सुशासनका काम गर्ने बताए। “मैले कहिलेसम्म नेतृत्व गर्छु भन्ने थाहा छैन, तर यो बीचमा भ्रष्टाचारको उन्मुलनको लागि समाजमा सुशासन कायम राख्न, न्यायपूर्ण समाज निर्माण गर्न प्रतिबद्ध रहनेछु,” दाहालले भने।
उनले सामाजिक न्याय, समृद्धि, सुशासनको पक्षमा मोर्चाले नयाँ अभियान शुरू गरेको बताए। “हिजो जनआन्दोलनमार्फत संघीयता, लोकतन्त्र र गणतन्त्रको लागि लडिरहने पार्टीहरूको हाल मोर्चामार्फत नै गणतन्त्र र लोकतन्त्रलाई समाजवादतर्फ उन्मुख गराएर अघि बढाउनुपर्ने देखिन्छ,” दाहालले भने।
कम्युनिस्टहरू विभाजित मात्र हुन्छन् भन्ने आम बुझाइलाई चिर्दै आवश्यकता पर्दा साझा दुष्मन र साझा लक्ष्यका लागि ऐक्यबद्ध भएर लाग्न सक्छन् भन्ने मोर्चाले प्रष्ट्याएको उनको भनाइ थियो। उनले मोर्चाले न्यायपूर्ण समाज निर्माणका लागि अघि बढ्ने बताए।