ललिता निवास प्रकरणको थुनछेक बहस अन्तिमतिर
ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको थुनछेक बहस अन्तिमतिर पुगेको छ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार आज एक जना प्रतिवादीको बहस हुने र त्यसपछि सरकारी वकीलले जवाफी बहस गर्नेछन्। “सरकारी वकीलको बहस आजै सकियो भने आजै थुनछेक आदेश आउँछ, नभए भोलि पुग्ला,” दाहालले भने।
यसअघि भदौ २२ मा नै प्रहरी हिरासतमा रहेका १८ मध्ये १७ प्रतिवादीका तर्फबाट वकीलले बहस गरेका थिए। बाँकी तत्कालीन समरजङ्ग कम्पनीका कार्यालय प्रमुख लोकहरि घिमिरेका तर्फबाट बहस बाँकी थियो। आज घिमिरेका तर्फबाट वकीलले बहस गरेपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ।
त्यसपछि थुनछेक आदेश आउनेछ। कसलाई थुनामा राख्ने, कसलाई धरौटीमा छाड्ने र कसलाई साधारण तारिखमा पठाउने भन्ने अदालतले आदेश गर्नेछ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासमा बहस चलिरहेको छ। सरकारी लिखत कीर्ते अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालयले उक्त मुद्दामा ३१० जनाविरुद्ध अभियोजन दर्ता गरेको छ। जसमध्ये २१ जनाको भने मृत्यु भइसकेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले ६० दिन लगाएर सङ्गठित अपराध कसूरमा घटनाको अनुसन्धान गरेको थियो। तर, सरकारी वकीलले सङ्गठित अपराध कसूर आकर्षित नहुने भन्दै कीर्तेमा मुद्दा दर्ता गरेको हो।
२०४९ देखि २०६९ सालसम्ममा नक्कली मोही खडा गरेर ललिता निवासको १४३ रोपनी जग्गा व्यक्तिका नाममा ल्याइएको थियो। उक्त प्रहरणमा पूर्वमन्त्री, पूर्वसचिव बहालवाला सचिव, पूर्वकर्मचारी, नक्कली मोही, व्यवसायीलगायत विरुद्ध मुद्दा दर्ता भएको छ।