मलंगवामा लगाइएको कर्फ्यू हट्यो, निषेधाज्ञा जारी
सर्लाहीको मलंगवामा लगाइएको कर्फ्यू हटेको छ।
शुक्रबार कृष्णको मूर्ति सेलाएर फर्कने क्रममा दुई समुदायबीच झडप भएको थियो। सो घटनाका कारण हुन सक्ने तनावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले शनिबार कर्फ्यू लगाएको थियो।
अहिले कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरिएको छ। सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्म लगाइएको कर्फ्यू हटाएर भदौ २७ गते राति १२ बजेसम्म सो क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जानकारी दिए।
शान्ति सुरक्षाको अवस्था सामान्य रहेकाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम जारी कर्फ्यू आदेश हटाइएको प्रजिअ यादवले जानकारी दिए।
सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमको मध्यनजर गर्दै साविक मलंगवा नगर क्षेत्र पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल-भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोस्ट/बाबा पेट्रोल पम्प सीमा क्षेत्रभित्र कुनै प्रकारको भेला, जुलूस गर्न नपाइने, बैठक वा प्रदर्शन वा पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (२) (१) र दफा ६ (ख) को (१) (ग) बमोजिम आज बिहान ८ बजेदेखि भदौ २७ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको यादवले जानकारी दिए।