मोरक्कोमा भूकम्प जाँदा ८२० जनाको मृत्यु, ६७२ घाइते
मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परी ८२० जनाको मृत्यु भएको छ भने ६७२ जना घाइते भएका छन्। जसमध्ये २०५ जनाको अवस्था गम्भीर छ।
भूकम्पमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका मोरक्को विदेश मन्त्रालयले जनाएको छ। त्यस्तै, मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ।
गएराति गएको ६.८ म्याग्निच्युडको भूकम्पबाट भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए। अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन्।
शक्तिशाली भूकम्पपछि साना–साना धेरै परकम्प आज पनि महसूस गरिएको मोरक्कका सञ्चार माध्यमले जनाएका छन्। यो भूकम्प मोरक्कोमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भएको समाचारमा उल्लेख छ।
सरकारी अधिकारीहरूका अनुसार देशको एक तिहाइ भूभाग भूकम्पबाट प्रभावित भएकाले ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ। भूकम्पले नराम्ररी प्रभावित पर्वतीय क्षेत्रमा रहेका दुर्गम गाउँसम्म निकै कठिनाइ भएको छ।
पुराना भवन भएका गाउँमा अकल्पनीय विनाश भएको अनुमान गरिएको छ। ती स्थानमा उद्धारकर्ताहरू पुग्न केही दिन लाग्न सक्छ। मराकेस, कासाब्लाङ्का लगायत शहरी क्षेत्रका मानिसले सडकमा रात बिताएका छन्। क्षति एवं हताहतीको विस्तृत विवरण प्राप्त भएको छैन।
यसैबीच, विश्वका विभिन्न मुलुकका नेताहरूले मोरक्को सरकारप्रति सहानुभूति प्रकट गर्दै सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।