मलंगवा बजार क्षेत्रमा कर्फ्यू जारी
मूर्ति विसर्जनको विषयमा विवाद उत्पन्न भएपछि सर्लाहीको सदरमुकाम मलंगवामा स्थानिय प्रशासनले कर्फ्यू लगाएको छ।
जिल्ला प्रशासन कार्यालयले शनिबार कर्फ्यू जारी गरेको हो। शनिवार साँझ ५ देखि आईतबार बिहान ८ बजेसम्म मलंगवा बजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए।
मलंगवाको स्थिति तनावग्रस्त बनेको र नियन्त्रण बाहिर जान सक्ने भएपछि स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कर्फ्यू आदेश जारी गरिएको प्रशासन कार्यालयले जनाएको छ। कर्फ्यू जारी गरेसँगै बजार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ।
कृष्ण जन्माष्टमी पूजापछि मूर्ति विसर्जनका क्रममा शुक्रबार साँझ दुई समुदायबीच झडप भएको थियो। जसका कारण विवाद बढ्दै गएपछि गएराति बल प्रयोग गर्नु परेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले १६ राउन्ड अश्रुग्यास र एक राउन्ड हवाइ फायर गरेको थियो।
मलंगवा बजार क्षेत्रमा बिहानैदेखि विरोध प्रदर्शन शुरू भएको थियो। फेरि झडपको स्थिति आउने सक्ने देखिएपछि चोक चोकमा सुरक्षाकर्मी परिचालन गरिएको छ।