पोखरा विमानस्थलमा ड्रुकएअरको व्यावसायिक उडान
भुटानको रोयल भुटान एअरलाइन्स ड्रुकएअरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार पहिलोपटक व्यावसायिक उडान गरेको छ।
भुटानको राजधानी थिम्पुस्थित पारो विमानस्थलबाट चालक दलका सदस्य र तीन यात्रुसहित आज बिहान ६ः४० बजे पोखरा ओर्लिएको थियो। आजै बिहान ८:१५ बजे ४२ यात्रु बोकेर थिम्पु फर्किएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको आठ महीनापछि पहिलोपटक अन्तर्राष्ट्रिय व्यावसायिक उडान भएको पोखरा विमानस्थलले जनाएको छ। गत पुस १७ गते पोखरा विमानस्थलको उद्घाटन गरिएको थियो।
पोखराबाट थिम्पु जान लागेका पर्यटकलाई पोखरा विमानस्थलमा खादा तथा माला लगाएर बिदाइ गरिएको छ। गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, पोखरा महानगरका मेयर धनराज आचार्य, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, पर्यटन व्यवसायी लगायतले बिदाइ गरेका हुन्।
पोखरा विमानस्थलका प्रमुख देवचन्द्रलाल कर्णले अन्तर्राष्ट्रिय उडानबाट विमानस्थलले पहिलोपटक आम्दानी गरेको बताए। प्रतियात्रु तीन हजार रुपैयाँ विमानस्थललाई आम्दानी भएको छ। “यो पोखराको पहिलो कमर्सियल उडान हो। यसलाई हामी रेभेन्यु फ्लाइट भन्छौं, चार्टरको रूपमा आएको हो,” कर्णले भने, “यसका लागि मेहनत गरेका थियौं, कम्पनीलाई राम्रो सुविधा दिन्छौं भनेर प्रतिबद्धता गरेका थियौं, यसबाट उनीहरू कन्भिस भएर आएका हुन्।”
भारत, नेपाल र भुटान घुम्ने गरी आएका अमेरिकी पर्यटक ड्रुक एअर चार्टर गरी थिम्पु पुगेका हुन्। जहाज भारतीय एजेन्सीले नै चार्टर गरेको थियो। उनीहरू तीन दिन पोखरामा बसेर प्याराग्लाइडिङ लगायत गतिविधिमा सामेल भएका थिए। काठमाडौंबाट उनीहरू आठ हेलिकोप्टरमा पोखरा आएका थिए।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि नियमितरुपमा अन्तर्राष्ट्रिय उडान अझै हुनसकेको छैन। विमानस्थल आन्तरिक उडानमा सीमित छ। यसअघि चीनको सिचुआन एअरलाइन्सले पोखरामा पहिलो चार्टर उडान गरेको थियो।