बाँकेमा बस दुर्घटना हुँदा सात यात्रुको मृत्यु, ३० घाइते
बाँकेमा गएराति बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
दाङबाट बर्दियातर्फ गइरहेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोक्किएको हो। गएराति ९ बजे भएको दुर्घटनामा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए।
दुर्घटनामा ठाकुरबाबा-९ का ५० वर्षीय काशीराम थारू, ५५ वर्षीया कस्तूरी थापा, ५० वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारू, ठाकुरबाबा-७ का ६५ वर्षीय साधुराम थारू, ठाकुरबाबा-८ का ४५ वर्षीय जुगबहादुर चन्द र अर्का एक युवकको मृत्यु भएको डीएसपी डाँगीले जानकारी दिए।
जुगबहादुर बस चालक हुन् भने अर्का सनाखत नभएका व्यक्ति पनि बस स्टाफ भएको प्रहरीको भनाइ छ।
दुर्घटनामा ३० जना घाइते छन्। घाइतेको कोहलपुरस्थित अस्पतालमा उपचार भइरहेको छ। बसमा ४१ जना सवार रहेको बुझिएको डीएसपी डाँगीले बताए।