हिक्मत कार्की कोशीको मुख्यमन्त्री नियुक्त
नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कार्की कोशी प्रदेशका मुख्यमन्त्री नियुक्त भएका छन्।
सर्वोच्च अदालतको परमादेश अनुसार कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई शुक्रबार मुख्यमन्त्री नियुक्त गरेका हुन्। संविधानको धारा १६८ को उपधारा ३ बमोजिम कार्की प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका छन्।
यसअघि गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका उद्धव थापाले प्राप्त गरेको विश्वासको मत सर्वोच्चले अदालतले बदर गरेको थियो। संविधानको धारा १६८ को उपधारा २ बमोजम संयुक्त सरकारका मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गर्न नसकेको ठहर भएपछि उपधारा ३ बमोजिम कार्की मुख्यमन्त्री बनेका हुन्।
कोशी प्रदेश सभामा नेकपा (एमाले) सबैभन्दा ठूलो दल हो। ९३ सदस्यीय प्रदेश सभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा (एकीकृत समाजवादी)का चार र जनता समाजवादी पार्टीका एक सांसद छन्।