पञ्चेश्वर प्राधिकरणको सीईओमा मधुप्रसाद भेटुवाल
पञ्चेश्वर विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नेपालका तर्फबाट मधुप्रसाद भेटुवाल नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को भदौ २१ गतेको बैठकले सहसचिव भेटुवाललाई २०८१ जेठ २८ गतेसम्मका लागि सीईओका रूपमा खटाउने निर्णय गरेको हो। शुक्रबार पत्रकार सम्मेलन गरी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेकी छन्।
त्यस्तै, प्राधिकरणको कार्यकारी निर्देशकमा प्रशासन/वित्ततर्फ दीपक लामिछाने, वातावरणतर्फ रामगोपाल खर्बुजा र कानूनतर्फ इन्दिरा दाहाल भट्टराईलाई खटाउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।
यससँगै मन्त्रिपरिषद्ले सहसचिव फणीन्द्र गौतमलाई सचिवमा बढुवा गरेको छ। गौतमलाई सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिवमा पदस्थापन गरेको छ।
त्यस्तै, तीन जना सचिवको सरुवा गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव उदयराज सापकोटालाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा, नेपाल कानून आयोगका सचिव लीलादेवी गड्तौला (निरौला)लाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानून आयोगमा सरुवा गरिएको छ।