दुई कैदीको हत्यामा सात प्रहरी र आठ कैदी विरुद्ध मुद्दा दर्ता
संखुवासभा कारागारमा भएको कैदी हत्या प्रकरणमा सरकारी वकीलको कार्यालयले सात प्रहरी र आठ कैदी विरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरेको छ।
प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी हवल्दार राजकुमार श्रेष्ठ, प्रहरी जवानद्वय सुमन गुरुङ र पवनकुमार महतो, कारागार सुरक्षा गार्डद्वय दमनसिंह राई र नुसन राई विरुद्ध मुद्दा दर्ता गरिएको जिल्ला न्यायाधिवक्ता सन्तोषप्रसाद भण्डारीले बताए।
त्यस्तै, सरकारी वकीलको कार्यालयले कैदीहरू राम कार्की, अनिस शर्मा कट्टेल, सचिन राई, सुमन सारुमगर, टीकाराज चौहान, नवीनकुमार राई, इन्द्रध्वज घिमिरे र मीनबहादुर तामाङविरुद्ध पनि मुद्दा दर्ता गरेको छ।
कारागारको झ्याल काटेर भाग्न खोजेपछि गत साउन २४ गते दुई जना कैदीको कुटपिटबाट मृत्यु भएको थियो। कुटपिटबाट संखुवासभाको मादीका विनोद तोलाङ्गी र नुवाकोटको ककनीका आकाश बलामीले ज्यान गुमाएका थिए।
जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धानपछि सरकारी वकीलको कार्यालयले शुक्रबार मुद्दा दर्ता गरेको हो।