आत्महत्या रोकथाम हटलाइनमा एनसेलबाट पनि निःशुल्क फोन गर्न सकिने
सरकारले आत्महत्या रोकथामका लागि सञ्चालन गरिरहेको हेल्पलाइन ११६६ मा अब एनसेलबाट पनि निःशुल्क फोन गर्न सकिने भएको छ।
एनसेलबाट निःशुल्क फोन गरेर मनोचिकित्सक तथा मनोपरामर्शदातासँग आवश्यक परामर्श लिने व्यवस्था गरिएको छ। यसका लागि एनसेल आजियाटा लिमिटेड र मानसिक अस्पतालबीच सहकार्य शुरू भएको छ।
विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा मानसिक अस्पताल, लगनखेलमा आयोजित एक कार्यक्रममा एनसेलले हेल्पलाइनका लागि सिम सहितको ह्यान्डसेट सोलुसन्स हस्तान्तरण गरेको छ। यससँगै अब यो हटलाइनमा एनसेल नेटवर्कबाट पनि फोन लाग्ने भएको हो।
राष्ट्रिय हेल्पलाइनमा आबद्ध भएर यो सेवालाई अझ प्रभावकारी बनाउन योगदान पुर्याउन पाउँदा हर्षित भएको एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले बताए।
आत्महत्याको सोच र अन्य मानसिक स्वास्थ्य समस्याबारे फोन आउने क्रम बढिरहेको मानसिक अस्पतालका निर्देशक डा. अनन्तप्रसाद अधिकारीले बताए। यस्तो अवस्थामा एनसेलसँगको सहकार्यले सेवा झन् प्रभावकारी हुने डा. अधिकारीको भनाइ छ।