विश्वकप ग्लोबल छनोटमा पुग्ने नेपालको सपना समाप्त
आईसीसी महिला टी-२० विश्वकप एशिया क्षेत्र छनोट अन्तर्गत आज भएको सेमिफाइनलको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।
मलेशियाको यूकेएम वाईएसडी ओभल रङ्गशालामा भएको खेलमा नेपाल थाइल्यान्डसँग ४६ रनले पराजित भएको हो।
हारसँगै नेपालको विश्वकप ग्लोबल छनोटमा पुग्ने सपना समाप्त भएको छ। थाइल्यान्डले दिएको १०६ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर तीन बलमा अलआउट हुँदै ५९ रनमा समेटियो।
नेपालका लागि कविता कुँवरले सर्वाधिक ११ रन जोडिन् भने अप्सरी बेगम र कविता जोशीले समान १० रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।
नेपाललाई सस्तैमा समेट्ने क्रममा थाइल्यान्डकी ओनिचा कामचोम्फु र थिपाच्चा पुथावाङले समान तीन विकेट लिए भने नटाया बुचथमले दुई तथा फनिता माया र सुनिदा चतुरङ्गरत्नले समान एक विकेट लिए।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै १०५ रन बनाएको थियो। थाइल्यान्डका लागि नानपाट कोन्चारोएनकाईले सर्वाधिक ५९ रनको योगदान दिइन्। त्यस्तै, नथाकन चान्थमले ३१ र चानिदा सुतिरुआङले अविजित ११ रन बनाए।
नेपालका लागि कविता कुँवर र पूजा महतोले समान एक विकेट लिए। जितसँगै थाइल्यान्ड प्रतियोगिताको फाइनलमा पुग्दै विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ।
नेपाल समूह ‘ए’ उपविजेता तथा थाइल्यन्ड समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेका थिए।