ठेकेदार सम्पर्कविहीन हुँदा तीन वर्षदेखि पुल निर्माण अलपत्र
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित केरुङ्गे खोलामा तीन वर्षदेखि पुल निर्माणको काम अलपत्र छ।
२०७५ सालमा कावासोती नगरपालिकाको वडा नम्बर ३ र ४ जोड्ने गरी केरुङ्गे खोलामा पुल बनाउन थालिएको थियो। २०७७ सालको असारसम्ममै निर्माणसम्पन्न हुनुपर्ने पुल ठेकेदार सम्पर्कविहीन भएपछि अलपत्र परेको हो।
पुलको केही भागको काम सकिएको भए पनि बीच खण्डमा ढलानको काम बाँकी नै छ। आफूले पटक पटक फोन गर्दा पनि ठेकेदार सम्पर्कमा नआएको कावासोती-४ का वडाध्यक्ष नारायणप्रसाद लोहनी बताउँछन्।
“वडा, पालिका स्तरबाट पटक पटक ताकेता गर्यौं तर निर्माणको काम अघि बढाउन ठेकेदारले आलटाल गर्दै आएको छ,” वडाध्यक्ष लोहनीले भने। पुल निर्माण नहुँदा पानी पर्ने बित्तिकै आवतजावतमा समस्या हुने गरेको उनले बताए।
१४० मिटर लम्बाइको पुल करीब १० करोड ५० लाख रुपैयाँको लागतमा निर्माणसम्पन्न गर्ने गरी ठेक्का लगाइएको थियो। तर, पटक पटक म्याद थप्दा समेत निर्माण पूरा भएको छैन। पछिल्लो पटक २०८० असारसम्म पुल निर्माण गर्ने गरी म्याद थप गरिएको थियो। यस अवधिमा समेत काम नसकिएपछि पुलको काम अलपत्र परेको वडाध्यक्ष लोहनीले बताए।
कावासोती ३ र ४ लाई जोड्ने मात्रै नभएर हुप्सेकोट गाउँपालिकाका बासिन्दालाई सहज रूपमा सदरमुकाम कावासोती आउने सडकखण्डको पुल समेत भएकाले यसको निर्माणमा ढिलाइ हुँदा जनताले धेरै सास्ती खेप्नुपरेको उनको भनाइ थियो।
यता, ठेकेदार बेपत्ता भएपछि कावासोती नगरपालिकाले जिल्ला प्रशासन कार्यालय, नवलपुरलाई पत्राचार गरी ठेकेदार झिकाई आवश्यक कारबाही र निर्माणको काम अघि बढाउन आग्रह समेत गरेको थियो। गत असारमा निर्माण कम्पनीले असारभित्र ढलान गरी काम सक्ने प्रतिबद्धता समेत जनाएको थियो।
सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनीयर राजेन्द्र महर्जनका अनुसार पुल निर्माणको म्याद सकिएकाले केन्द्रबाट म्याद थप भएमा काम अघि बढ्नेछ। नियमित प्रक्रियामा पुलको म्याद थप नहुने र पुराना ठेक्काको म्याद थप गर्ने मन्त्रिपरिषद्को निर्णय आए मात्र म्याद थप हुने उनले बताए। विकल्पमा सोही ठेकेदारलाई १० प्रतिशत क्षतिपूर्ति तिराएर काम लगाउन सकिने उनको भनाइ छ। -रासस