मेस्सीको फ्री-किक गोलको मद्दतमा अर्जेन्टिना विजयी
फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोट अन्तर्गत आज भएको खेलमा अर्जेन्टिनाले विजयी शुरूआत गरेको छ।
इक्वेडर विरुद्धको खेलमा अर्जेन्टिना १-० गोल अन्तरले विजयी भएको हो। सन् २०२२ को विश्वकप विजेता टोली अर्जेन्टिनाले यो जित सहित तीन अङ्क प्राप्त गरेको छ।
अर्जेन्टिनाको जितमा टीमका कप्तान लियोनल मेस्सीले गोल गरे। उनले ७८औं मिनेटमा फ्री-किक मार्फत सुन्दर गोल गरेका थिए।
मेस्सीको यो ६५औं फ्री-किक गोल हो। योसँगै मेस्सीले विश्वकपको दक्षिण अमेरिकी छनोटमा सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि बराबरी गरेका छन्। उरुग्वेका लुइस सुआरेजको २९ गोलको कीर्तिमान मेस्सीले बराबरी गरेका हुन्। यस्तै, राष्ट्रिय टीमका लागि मेस्सीको यो १०४औं गोल हो।
विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तर्गत नै आज पेरु-पाराग्वे र कोलम्बिया-भेनेजुएलाबीच पनि खेल भएको थियो। पेरु र पाराग्वेले गोलरहित बराबरी खेले भने कोलम्बियाले भेनेजुएलालाई १-० गोल अन्तरले पराजित गर्यो।
छनोट अन्तर्गत भोलि नेपाली समय अनुसार बिहान ४:४५ मा उरुग्वेले चिलीको सामना गर्नेछ भने बिहान ६:३० मा ब्राजिलले बोलिभियाको सामना गर्नेछ।