किन विदेशिन्छन् विद्यार्थी?
हरेक वर्ष अध्ययनका लागि भन्दै विदेशिने एक लाख हाराहारी नेपालीमध्ये अधिकांशको प्राथमिकता पढाइभन्दा रोजगारी हुन्छ। सुरक्षित भविष्यको खोजीमा विद्यार्थी बनेर विदेशिने र उतै बस्ने प्रवृत्ति पछिल्ला दिन अझ तीव्र देखिएको छ।
बर्दियाबाट काठमाडौं पस्दा स्मारिका पाठकले योजना बुनेकी थिइन्- सानोतिनो जागीर खाने अनि पढाइ अघि बढाउने। पद्मकन्या क्याम्पस भर्ना भएकी पाठकले भने जस्तो जागीर भने पाइनन्। स्नातक तह उत्तीर्ण भएपछि पनि एक वर्ष जति धेरै ठाउँमा आवेदन दिइन्। कतै काम गरेको अनुभव खोजियो त कतै सामान्य खर्च पनि नचल्ने पारिश्रमिक प्रस्ताव गरियो।
दिक्क भएपछि विदेश जाने प्रयोजनले भाषा अध्ययनमा लागिन्। अहिले उनी ‘नन-अब्जेक्शन सर्टिफिकेट’ (एनओसी) लिएर अस्ट्रेलिया उड्ने तयारीमा छिन्। पाठक भन्छिन्, “नेपालमै पढ्ने विचार गर्दा १५-२० हजारको जागीर पाउनै गाह्रो भो, त्यसैले विदेश जाने निर्णय गरें।”
‘सोसल वर्क’ विषयमै स्नातक गर्ने तयारीमा रहेकी उनले पढाइ सकिंदासम्म आर्थिक रूपले पनि सुदृढ भइने आशा गरेकी छन्।
त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका एक युवक गैरसरकारी संस्थामा काम गर्थे। पारिश्रमिकले दैनिक खर्च धान्नै ठिक्क हुन्थ्यो। उनले थोरै रकम बचत पनि हुने कामको खोजीमा थुप्रै ठाउँमा आवेदन दिए। काम नपाएपछि अब विद्यार्थी भिसामा क्यानडा जाने तयारीमा छन्। एनओसी लिइसकेका छन्।
प्रोजेक्ट म्यानेजमेन्ट विषयमा स्नातक गर्ने सोचेका उनी नेपालमा गर्ने मेहनत विदेशमा गर्दा आफ्नो र परिवारको आवश्यकता पूरा गर्न सकिने विश्वासमा छन्। उनी भन्छन्, “नेपालमा आम्दानी र खर्चको अन्तर धेरै भएकाले टिक्न सकिंदैन जस्तो लाग्यो।”
काठमाडौंको प्रिमियर कलेजबाट ‘सोसल वर्क’ विषयमा स्नातक गरेकी सन्ध्या न्यौपाने स्नातकोत्तर गर्न क्यानडा जाँदै छिन्। न्यौपानेको पनि मुख्य ध्येय चाहिं रोजगारी नै हो। “नेपालमा १५-२० हजारको जागीर पाउनै अनेक झमेला देखेपछि विदेशिने निर्णय गरेकी हुँ,” उनी भन्छिन्।
ललितपुरस्थित पुलचोक क्याम्पसबाट सिभिल इन्जिनीयरिङमा स्नातक गरेपछि आशीर्वाद अधिकारीले केही समय विभिन्न ठेकेदारसँग काम गरे। ठेक्का नपाउँदासम्म महीनौं तलब आउँदैनथ्यो। आए पनि असाध्यै थोरै थियो। त्यसपछि उनले सरकारी सेवामा लाग्ने सोच बताए। तर, लोक सेवाले माग्ने थोरै कोटामा प्रतिस्पर्धा गरिरहने धैर्य उनलाई रहेन।
त्यसैले अब अमेरिका जाने तयारीमा छन्। त्यहाँ अध्ययनसँगै कमाइ पनि राम्रो हुने उनको बुझाइ छ। “यहाँको तलबले एक्लो ज्यान पाल्नै सकस हुने देखेपछि विदेशिने निर्णय गरेको हुँ,” अधिकारी भन्छन्, “विदेशमा मेहनत गरे अनुसार करिअर पनि राम्रो हुन्छ।”
देशमा रोजगारी सुनिश्चित नदेखेर विद्यार्थी भिसामा विदेशिनेको संख्या बर्सेनि बढ्दो छ। शिक्षा मन्त्रालय अन्तर्गतको एनओसी शाखाका अनुसार २०७७ पुस १७ देखि २०७८ पुस १६ सम्म ४४ हजार ८१२ जनाले एनओसी लिएका थिए। अर्को वर्ष यो संख्या एक लाख दुई हजार ५०० पुग्यो, जुन अघिल्लो वर्षको भन्दा झन्डै ४४ प्रतिशतले बढी हो।
२०७७ भदौदेखि अनलाइन आवेदन लिन थालेको शाखाले शुरूको दुई वर्ष अंग्रेजी वर्षारम्भ अनुसार लगत राख्न थालेकोमा अहिले नेपाली आर्थिक वर्ष अनुसार राख्छ। आर्थिक वर्ष २०७९/८० मा एक लाख १० हजार २१७ जनाले एनओसी लिएका छन्।
मूल समस्या बेरोजगारी
नेपाल श्रम सर्वेक्षण २०७५ अनुसार, प्रत्येक वर्ष कम्तीमा १६ लाखदेखि २० लाखसम्म युवा नेपाली श्रम बजारमा आउँछन्, तर तीमध्ये पाँच प्रतिशतले मात्र रोजगारी पाउँछन्। कम्तीमा स्नातक तह उत्तीर्ण ७० हजार व्यक्ति बेरोजगार रहेको सर्वेक्षणमा देखिएको छ।
त्यस्तै, रोजगारीका लागि खाडी र अन्य मुलुक पुगेका करीब आठ लाख युवामध्ये ७४ हजार स्नातकोत्तर, दुई लाख १६ हजार स्नातक, चार लाखभन्दा बढी प्रमाणपत्र तह र १५ लाखभन्दा बढी एसईई उत्तीर्ण रहेको औंल्याएको छ।
राष्ट्रिय जनगणना, २०७८ अनुसार हाल नेपालमा काम गर्न सक्ने उमेरका ८६ लाख व्यक्तिले योग्यता र सीप अनुसारको रोजगारी पाएका छैनन्। जनसंख्याका आधारमा ३४.२ प्रतिशत नागरिक मात्र रोजगार छन्।
रोजगारमध्ये पनि अधिकांश आफ्नो आम्दानीलाई सन्तोषजनक मान्दैनन्। पछिल्लो समय आर्थिक मन्दीले बढाएको महँगीको तुलनामा आम्दानी नबढेको कर्मचारीको गुनासो छ। नेपालीको औसत कमाइ र आवश्यक आधारभूत खर्चको सन्तुलनबारे खासै अध्ययन भएको छैन। यद्यपि नेपाल जीवनस्तर सर्वेक्षण, २०६६/६७ ले हिमाली क्षेत्रमा वार्षिक १९ हजार ८५९ रुपैयाँ तथा काठमाडौं उपत्यकामा वार्षिक ४० हजार ९३३ रुपैयाँभन्दा कम आम्दानी गर्नेलाई गरीबीको रेखामुनि राखेको थियो।
सर्वेक्षणले समग्रमा औसत १९ हजार २६१ रुपैयाँभन्दा कम आय भएकालाई गरीबीको रेखामुनिका नागरिक मानेको थियो। यस अनुसार त्यति वेला २५ प्रतिशत नेपाली गरीबीको रेखामुनि थिए। यो संख्या झनै बढ्न सक्ने विज्ञहरू बताउँछन्।
बढ्यो पलायन
अध्ययनका नाममा विदेशिनेमध्ये कति स्वदेश फर्कन्छन्, सरकारसँग यकीन तथ्याङ्क छैन। तर, अधिकांश उतै बस्ने गरेको विदेशिने तयारीमा रहेकाहरूको धारणाबाट बुझिन्छ। ब्याचलर इन नर्सिङ साइन्स (बीएनएस) कोर्स गरेर काठमाडौंको एक निजी अस्पतालमा काम गरिरहेकी स्मिता कार्की क्यानडा जाने योजनामा छिन्। नेपालको जागीरले नर्सिङ पढ्दाको ऋण नै तिर्न सम्भव नभएपछि विदेशमा ‘सेटल’ हुने मनस्थिति बनाएको कार्की बताउँछिन्। “नेपालका प्रतिष्ठित भनिएकै अस्पतालले श्रम शोषण गरेर हैरान बनाए,” उनी भन्छिन्।
बीएनएस गरेर बेलायत जान लागेकी सरिता बुढाथोकी पनि उतै बस्ने योजनामा छिन्। बुढाथोकीका अनुसार स्वदेशमा दैनिक १२ घण्टा ड्यूटी गर्दा पनि आधारभूत आवश्यकता पूरा गर्नै सकस छ। उनी भन्छिन्, “उता काम गरेपछि आफ्नो तथा परिवारको शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता कुरा सुनिश्चित हुने रहेछन्।”
अर्थशास्त्री अच्युत वाग्ले भने विदेश पलायन बढ्नुको सम्पूर्ण कारण रोजगारी अभाव र अनिश्चित भविष्य नै हो भन्नेमा सहमत छैनन्। यसमा आवश्यकता र बाध्यताभन्दा बढी सामाजिक रोगका रूपमा जरा गाड्दै गएको देखासिकी र लहलहैको पछि कुद्ने प्रवृत्ति निर्णायक रहेको वाग्ले बताउँछन्। यद्यपि देशको नीतिगत कमजोरी पनि उत्तिकै जिम्मेवार रहेको उनको तर्क छ। वाग्ले भन्छन्, “समग्रमा राष्ट्रिय योजनाको खाका राम्रो नभएकाले विद्यार्थी देश छाडिरहेछन्। शिक्षा नीति मात्र होइन, देशको समग्र नीतिमा पुनःसंरचना नगरी विद्यार्थी देशमा रोकिनेवाला छैनन्।”
राज्यले लगानी गरेर तयार पारेको जनशक्ति विदेशमा पलायन हुँदा देशको समग्र अर्थतन्त्र विकृत भएको र जोखिममा परेको वाग्ले बताउँछन्। उनका अनुसार एक विद्यार्थीले स्नातक गर्दासम्म राज्यको करीब डेढ करोड लगानी हुन्छ। विदेश जाने विद्यार्थीले हरेक वर्ष एक खर्ब बराबरको रकम लगिरहेका छन्। “नेपालबाट काम गर्ने जनशक्ति पलायन हुँदा भारतले मात्रै वार्षिक ६ अर्बको रेमिटेन्स लैजान्छ,” वाग्ले भन्छन्।
समाजशास्त्री दीपेश घिमिरे योग्य विद्यार्थी पलायन हुँदा सिर्जनशीलता, उद्यमशीलता र मेरिटको आधारमा हुने प्रतिस्पर्धा साँघुरिने र त्यसले देशको समग्र विकासमा असर पर्ने बताउँछन्। “आर्थिक अवस्था राम्रो भएका विद्यार्थी समेत पलायन हुनुको कारण यहाँ आशाको किरण नदेखेर हो,” घिमिरे भन्छन्।
उनका अनुसार आफूले लगानी गरेर तयार गरेको सक्षम जनशक्तिलाई रोजगारी दिन नसक्नु अवकसित देशको समस्या हो। यसलाई अन्त्य गर्न राज्यले विश्वविद्यालयको पाठ्यक्रम बदलिंदो समय र समाज अनुसार परिवर्तन गरी धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्नुपर्ने हुन्छ। रोजगारी मार्फत उद्यमशीलतालाई प्रवर्धन नगर्दासम्म देश पनि अविकसित नै रहिरहन्छ। “राज्यले युवा जनशक्ति टिकाउन समग्र प्रणालीमा परिवर्तन गर्न ढिलो भइसकेको छ,” घिमिरे भन्छन्।
शिक्षाविद् अमिना सिंह पनि विद्यार्थी विदेशिनुमा राज्यको नीतिगत कमजोरीलाई नै सङ्केत गर्छिन्। राज्यले देशमै रहेका वा बस्न चाहेका विद्यार्थीलाई केकस्ता अवसर र सेवासुविधा दिइरहेको छ भन्नेबारे विश्लेषण नगरी विदेशिएको विषयमा बहस गर्नु औचित्यहीन हुने सिंहको भनाइ छ। “विद्यार्थी विदेश पलायन भएर ठीक या बेठीक के भइरहेको छ भन्नुअघि देशमै बस्न चाहनेका लागि राज्यले के गरिरहेको छ भन्नेमा बहस जरुरी छ,” सिंह भन्छिन्।
बहसमा विदेशगमन थप सामग्री: