आखिर मानिस किन विदेश जान्छ?
वर्तमान नेपाल राज्य बन्नुभन्दा पहिलेबाट नै शुरू भएको विदेशगमन लाहुर हुँदै यूरोप-अमेरिकासम्म पुग्दा डायस्पोरा बनेको छ। तर, नेपाली डायस्पोराले नेपाली समाजमा सङ्कीर्ण राष्ट्रवादलाई नै मलजल गरिरहेको छ।
पहाडका बासिन्दाको विदेशगमनको इतिहास वर्तमान नेपाल राज्य बन्नुभन्दा पहिलेबाट नै शुरू हुन्छ। अवसरको खोजीमा पहाडका मानिस तल-माथि गर्ने गर्थे। बलभद्र कुँवर नै किल्ला-काँगडामा लड्दालड्दै पन्जाबका राजा रणजित सिंहको सेनामा काम गर्न गएको इतिहास छ।
त्यसो त काठमाडौं उपत्यकाका बासिन्दा पनि देश छोडेर बाहिर जाने, आउने गर्थे। यहाँ देश शब्दले आजको जस्तो अर्थ बोक्दैन। रिचर्ड बर्घटले व्याख्या गरे जस्तै ‘उस्तै रहनसहन र संस्कृतिका मानिसहरू बस्ने थलो’ बताउँछ। काठमाडौं वा नेवाः देशका बासिन्दा मूलतः व्यापारको सिलसिलामा हिंड्ने गर्थे। भक्तपुरको वैभव तिब्बतसँगको व्यापारले सिर्जना गरेको हो।
पहाडका मानिसको विदेशगमन व्यापारभन्दा पनि बढी श्रमसँगै जोडिएको छ। भारतमा बेलायती उपनिवेश सुदृढ हुँदै जाँदा यो श्रम आप्रवासन पनि फैलिंदै गयो। त्यसको मुख्य कारण थियो, उनीहरूले शुरू गरेको चियाखेती। चियाखेतीले सिर्जना गरेको अवसरका कारण नेपालको पहाडका मानिस दार्जीलिङ, डुवर्स, आसामतिरका चिया बगानमा गए। बिस्तारै अरू नेपाली पनि पूर्वोत्तर भारतदेखि बर्मासम्मका जङ्गल फँडानी गरेर खेतीपाती र पशुपालन गर्न पुगे।
बेलायती उपनिवेशले श्रम आप्रवासनको अर्को महत्त्वपूर्ण शुरूआत पनि गर्यो। त्यो थियो, बेलायती फौजमा नेपाली युवाको सहभागिता। नेपाल-अंग्रेज युद्धपछि नै नेपाली युवा अनौपचारिक रूपमा बेलायती सेनामा भर्ती हुन जान थालेका थिए। वीरशमशेरको उदयपछि राज्यले नै अनुमति मात्र दिएन, भर्तीका लागि आह्वान नै गर्यो। यसरी ठूलो संख्यामा पहाडका मानिस मूलतः भारतमा कामका लागि जान थाले। त्यसैले विदेशगमन ऐतिहासिक छ।
चिया बगानमा काम गर्न होस् वा सैनिक बनेर, दुवै संगठित श्रम आप्रवासन थियो। सैन्य सेवा त संगठित हुने भइहाल्यो, चिया बगानको काम पनि संगठित नै थियो। किनभने चिया खेती संगठित उद्योग हो। सैनिक कमान्ड जसरी नै चियाको खेती हुन्छ। चिया मजदूरका लागि बस्ती बनाइएको हुन्थ्यो। त्यहाँ डिस्पेन्सरी, सामुदायिक भवन आदि हुन्थे। त्यसैले चिया कमान्ड भनिन्थ्यो, जुन अहिले अपभ्रंश भएर चिया कमान भएको छ।
यीमध्ये पनि लाहुरे इतिहासको ठूलो महत्त्व छ किनभने यसले नेपाली समाजमा प्रशस्त प्रभाव पारेको छ। नेपाली समाजको चेतना निर्माण र आधुनिकतातर्फको यात्रामा यसको महत्त्व छ। लाहुरेहरू जतिसुकै टाढाको युद्ध मैदानमा लड्न पुगे पनि बाँचेकाहरू गाउँ फर्किन्थे। त्यसैले ‘लाहुरे सधैं गाउँ फर्किन्छ’ भनिन्थ्यो। फर्किएन भने त्यो एउटा विषाद बन्थ्यो। गाउँ फर्किने लाहुरे सधैं अन्य युवाको आकर्षण बन्थ्यो।
बिस्तारै श्रम आप्रवासनमा विविधीकरण आउन थाल्यो। संगठित रूपमा नभई व्यक्तिगत तवरमा अन्य श्रम क्षेत्रमा पनि जान थाले। यस्तो खालको विदेशगमनको शुरूआत भने समुद्रपारको संसारबारे जानकारी हुन थालेपछि नै भएको हो। जंगबहादुरको बेलायत यात्रापछि नेपालीलाई समुद्रपारका देशबारे थाहा हुन थाल्यो। शुरूमा पानीजहाज चढेर जान्थे। हवाई यातायातको विकासले यो विदेशगमनलाई तीव्रता दियो। त्यो क्रम सन् १९९० पछि शुरू भयो।
यो विदेशगमनलाई विश्वमा भइरहेका परिवर्तनसँग जोडेर हेर्नुपर्छ। सन् १९७० को दशकमा पेट्रोल सङ्कट भएपछि खाडी मुलुकमा तेलको उत्पादन बढ्न थाल्यो। त्यस्तै, सन् १९८० को दशकमा लिटिल टाइगर्स भनिने दक्षिण-पूर्वी एशियाका मलेशिया, कोरिया जस्ता देशमा आर्थिक उन्नति शुरू भयो।
त्यहाँ शुरूआतमा उद्योगभन्दा पनि सेवा क्षेत्रको बढी विकास भएको थियो। यी दुवै क्षेत्रमा श्रमको माग बढ्यो। त्यसको प्रभाव नेपालसम्म पर्यो। पासपोर्ट भयो भने धेरै टाढा नगई खाडी मुलुक र मलेशियामा काम गर्न गएर कमाउन सकिन्छ भन्ने थाहा पाए।
सन् १९९० को परिवर्तनपछि नेपालमा पासपोर्ट खुकुलो भयो। त्यसअघि बाहिर पढ्न जानका लागि पनि पासपोर्ट पाउन गाह्रो थियो। एकातिर खाडी मुलुक र मलेशियामा खुलेको अवसर, अर्कातिर नेपालमा भएको खुलापन, यी दुवै कारणले नेपाली ठूलो मात्रामा श्रमका लागि विदेशिन थाले। त्यो श्रम आप्रवासन पहिले लाहुरे हुँदा वा चिया बगानमा जाँदा जस्तो संगठित थिएन। यो श्रम आप्रवासनले विदेशगमनको चरित्रमा नै परिवर्तन ल्यायो। माओवादी विद्रोह चुलिंदै गएपछि यो श्रम आप्रवासन झनै बढ्दै गयो।
यो विदेशगमनको अर्को पाटो, पहाडका मानिस मात्र होइन, देशका हरेक क्षेत्रका युवा विदेशिन थाले। पुरुष मात्र नभई महिला पनि जान थाले। यी युवाले पठाएको रेमिटेन्स नेपालको अर्थतन्त्रको एउटा बलियो आधार बन्दै गयो। यद्यपि यसले नेपाली डायस्पोरा सिर्जना गरेको होइन। लाहुरे नभए पनि यी युवा निश्चित समय काम गरेर आफ्नै घर-गाउँ फर्किन्छन्।
विदेश जाने र उतै बस्ने क्रम भने मूलतः यूरोप र अमेरिका जान थालेपछि शुरू भएको हो। हुन त बेलायती फौजमा काम गर्न गएका नेपाली गोर्खा सन् १९९० दशकका अन्त्यबाट नै हङकङमा बस्न थालेका हुन्। जब सन् १९९७ मा हङकङ चीनलाई फर्काइने चर्चा शुरू भयो, त्यहाँ बसेका गोर्खाले आफ्नो आवाज उठाउन थाले। त्यति वेलासम्म हङकङ आइडी कार्डको व्यवस्था हुन थालिसकेको थियो।
बेलायती फौजमा काम गरेका नेपालीले ‘हामीले यत्रो वर्ष बेलायत सरकारको सेवा गर्यौं, अब हामी र हाम्रा सन्तानले यही बस्न पाउनुपर्छ’ भनेर आवाज उठाए। त्यो न्यायोचित पनि थियो। त्यसरी उनीहरू बस्न थाले। यो पुरानो संगठित श्रम आप्रवासनकै सिलसिलामा आएको नयाँ मोड थियो।
यूरोप, अमेरिका र अस्ट्रेलिया जाने क्रम भने योभन्दा फरक हो। सन् १९८० दशकको अन्त्यतिरबाट नेपाली अस्ट्रेलिया जान थालेको पाइन्छ। यूरोप र अमेरिकामा त त्योभन्दा पहिलादेखि जाने गरेका थिए। त्यहाँ काम वा पढ्नका लागि गएका नेपाली उतै बस्न थालेपछि भने नेपाली डायस्पोरा पनि बिस्तारै सिर्जना हुन थाल्यो। सन् १९९० को दशकमा अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) खुलाउन थालेपछि त उतै बस्ने गरेर जाने नेपाली झनै बढ्न थाले।
अर्कातर्फ सन् १९९० को दशकमा यूरोपमा जनशक्तिको अभाव भएपछि नेपाल जस्ता विकासशील देशका मानिसलाई लैजान थाले। त्यसले पनि विदेश गएर उतै बस्ने प्रचलन शुरू हुन थाल्यो। त्यसरी नेपाली बस्न थालेपछि त्यहाँ बजारको आवश्यकता पर्यो। नेपाली खानाको रेस्टुरेन्ट खोल्ने अवसरको सिर्जना भयो। त्यसैले अरू मानिस पनि जान थाले।
नेपाली डायस्पोरालाई सरसर्ती नियाल्दा निश्चित देशमा निश्चित ठाउँका मानिस गएको पाइन्छ। जस्तो- जापानमा बाग्लुङ, म्याग्दीका मानिस धेरै छन्। फिनल्यान्डमा गुल्मीका मानिस धेरै छन्। जापानमा पनि गुल्मीका धेरै मानिस रेस्टुरेन्टमा काम गर्छन्।
यसरी नेपाली बाहिर जानुको पछाडि सामाजिक मनोविज्ञानले पनि काम गरेको छ। साधनस्रोतमा सानो, वैदेशिक सहायता र ऋणमा निर्भर र अर्थतन्त्र सानो भए पनि नेपाली समाजको आधुनिकताको आकांक्षा एकदमै बढी छ। यो आकांक्षाको सिर्जना विदेशगमनले नै भएको हो। खासगरी लाहुरेले आधुनिक जीवनशैली नेपालमा भित्र्याए। बनारस, कलकत्ता, अलाहबाद लगायत भारतका शहरमा पढ्न जाने युवाले पनि आधुनिकतालाई आफ्नो समाजसम्म फैलाए। सूचना-प्रविधि र यातायातको विकासले आधुनिकतातर्फको यात्रालाई गति दियो।
शुरूमा आधुनिकताको आकांक्षा नेपाली हुनुमा थियो। अहिले त्यो आधुनिकताको आकांक्षामा परिवर्तन भएको छ। त्यो सम्पन्नताको पक्षसँग जोडिन्छ। त्यही आधुनिकताको आकांक्षाकै कारण नेपाली विदेश गइरहेका छन्। अहिले भइरहेको विदेशगमन यही आधुनिकताको आकांक्षासँग जोडिएको छ। त्यसैले आधुनिकता र विदेशगमनको एउटा चक्र निर्माण भएको छ।
पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि भन्दै विदेश जाने क्रम बढेको छ। धेरै मानिस बाहिर गइरहेछन्। जसरी बत्तीको उज्यालोमा पुतली झुम्मिन्छन्, त्यसैगरी नेपाली युवा पनि विदेशको आकर्षणमा गइरहेछन्। सामाजिक विज्ञानको भाषामा त्यसलाई ‘ब्राइट लाइट सिन्ड्रोम’ भनिन्छ। तर, यसरी गएकामध्ये सबैले सुख नै पाएका छन् भन्न गाह्रो छ। दुःख पाउने पनि प्रशस्त छन्।
अहिले त विदेश जाने प्रक्रिया नै जोखिमयुक्त छ। कोभिड-१९ महामारी सकिएपछि दिल्ली जाँदा मैले हवाईजहाजमा जापान जाने विद्यार्थीको हुल भेटेको थिएँ। उनीहरूलाई त्यहाँ गएर के गर्ने, कसो गर्ने भन्ने सामान्य जानकारी पनि गराइएको थिएन। हुन त मानिसले लडेर पनि सिक्छ, तर उनीहरूले कुन हदसम्मको हन्डर-ठक्कर खानुपर्ला भन्ने सोचेर म चिन्तित भएँ।
अहिले बेलायतमा राम्रै व्यापार गरिरहेका एक जना व्यक्तिलाई चिन्छु म। उनी भन्थे, “दाइ, म सुँगुर र गाईको मासु बोक्ने चिसो कन्टेनरमा कठ्याङ्ग्रिंदै आएको हुँ। मलाई लाग्छ, त्यो कन्टेनरमा भएका सबै बाँचेनन्।”
अमेरिका जान भनेर हिंडेको नेपाली युवा अफ्रिका वा क्यारेबियनका जङ्गलमा भेटिन्छ। यूरोप हिंडेको मानिस कन्टेनरमा भेटिन्छ। यसरी जोखिम उठाएर जाने मानिस को हुन्? पक्कै पनि गरीबीको रेखामुनि परेको गरीब गइरहेका छैन। केही हदसम्म सूचना भएको, आफन्त वा चिनेजानेका मानिस अमेरिका-यूरोप-अस्ट्रेलिया भइरहेका मानिस गइरहेका छन्।
देशमा सुरक्षित भविष्य नदेखेर विदेश गइरहेका छन् भन्ने गरिन्छ। मेरो मनमा प्रश्न उठ्छ, जो मानिस १०, १५ वा ५० लाख तिरेर अमेरिका जाने सोच बनाउँछन् उनीहरूले यहाँ के सुरक्षा देखेनन्? उनीहरू जुन जोखिम भोगेर त्यहाँ गइरहेका छन्, त्यो र आफ्नो देशमा हुने जोखिममा फरक के छ? आखिर मानिस के सोचेर बाहिर जान्छ? त्यसबारे राम्रो ‘इथ्नोग्राफिक स्टडी’ हुनुपर्छ।
त्यस्तै, एउटा कन्सल्टेन्सीले कति मानिस पठाउँछ? तीमध्ये कति टिकेर बस्छन्? कति दुःखको भुमरीमा पर्छन्? यस्ता विषयमा ‘इम्पिरिकल’ अध्ययन हुन जरुरी छ। यति मानिस बाहिर गइरहेका छन्, यो देश खत्तम भयो भनेर हुँदैन। कति मानिस बाहिर गएका छन् भन्ने थाहा पाउनुपर्छ।
अहिले खासगरी कक्षा १२ वा स्नातकसम्म नेपालमै पढेर बाहिर जाने संख्या बढिरहेको छ। त्यसरी बाहिर जानेले के पढ्छन्? कस्ता कलेजमा पढ्छन्? मलाई थाहा छैन। तर, स्वयंसिद्ध तथ्य हो- उनीहरूमध्ये अधिकांशले बाहिर गएर काम नै गर्ने हो। मुख्य उद्देश्य पैसा कमाउने नै हो। यहाँनेर अर्को प्रश्न उठ्छ- त्यसरी जाने युवा यहाँ निराश भएकाले गएका हुन् वा आकांक्षा बोकेर गएका हुन्?
यी दुई फरक अवस्था हुन्। आकांक्षा बोकेर जाने मानिसको कोही न कोही ‘रोल मोडल’ हुन्छ, फलानो दाइ गए, फलानो काका गए आदि। उनीहरूलाई कुनै किसिमको बन्देज हुँदैन। निराश भएर जाने मानिसलाई त्यहाँ पनि जीवन सुखमय हुन्छ भन्नेमा मलाई दुविधा छ। यहाँको अवस्थाप्रति निराश भएर गएका हुन् भने त्यो निराशा चिर्न जरुरी छ। त्यो जिम्मेवारी सरकार र समाज दुवैको हो।
अर्को प्रश्न पनि उठ्छ- नेपाली समाजको चाहनाको सीमा कति हो त? एउटा मानिसले कमाउन सक्ने कति हो? आर्थिक कोणबाट हेर्दा नेपाली अर्थतन्त्र बाँच्न पुग्नेसम्मको रहेछ। हामीसँग फुर्मास गर्ने अर्थतन्त्र छैन। तर, परदेशको पैसाले नेपालमा बजार विस्तार गर्यो। फुर्मास गर्न सक्ने वर्गको विकास गर्यो। त्यसको असर सामाजिक जीवनमा पनि पर्यो।
हिजोसम्म गाउँ-समाजमा राम्रै मानिएका पेशा र पदमा बसेकाहरू पनि अब कमाउन नसक्नेमा पर्न थाले। जसले देशमै बसिरहनेहरूमा एक प्रकारको नैराश्य सिर्जना गरेको छ। यो कोणबाट हेर्दा अर्को प्रश्न उठ्छ, नेपाली समाजको स्थिरताको द्योतक के हो?
नेपाली समाज स्थिर छ भन्ने आधार के हो भने यो अस्थिर समाज नै हो। त्यसैले यहाँका मानिसको मन पनि अस्थिर छ। कहाँ गयो भने के हुन्छ भनेर खोजिरहेको देखिन्छ। यी सबै अनुभवका आधारमा गरिएको विश्लेषण हो। नेपाली समाजको मनोविज्ञान, यसको दशा र दिशा हेर्न एउटा विधा नै सिर्जना हुनुपर्छ।
नेपाली डायस्पोरा विकास हुँदै जाँदा नेपाली समाजमा यसको राजनीतिक प्रभाव पनि परेको छ। यसले सङ्कुचित लोकरिझ्याइँ (कन्जरभेटिभ पपुलिज्म) बढाइरहेको छ। विदेशमा बस्दैमा मानिसमा खुला विचार निर्माण हुन्छ भन्ने होइन रहेछ। उतै बस्ने गरी जानेहरूमा आफ्नो देश, गाउँठाउँप्रतिको कामना बढी नै हुने रहेछ। अंग्रेजीमा त्यस्तोलाई ‘लंगिङ’ भनिन्छ। बसोबास उतातिर, मन यतातिर। एक प्रकारको दुविधामा बाँचिरहेको हुँदो रहेछ।
भारतीय डायस्पोराको यही दुविधालाई व्याख्या गर्न अंग्रेजीमा एउटा वाक्यांश छ- ‘एबीसीडी (अमिरकन-बर्न कन्फ्युज्ड देसी)’। त्यो दुविधा नेपाली डायस्पोरामा पनि छ। उसलाई गाउँको चौपारी पनि चाहिएको छ, अनि काठमाडौंमा खुला फूटपाथ पनि चाहिएको छ। बाहिर जाने मान्छेको स्मृतिमा आफूले छोडेको नेपाल हुँदो रहेछ। उसले नेपाली समाजले फड्को मारेको नदेख्दो रहेछ।
यो दुविधा र सङ्कुचित विचार केही हदसम्म सम्पत्तिको मोहसँग पनि जोडिएको छ। विदेशमा बसेर उतैको नागरिकता लिए पनि यताको सम्पत्ति त्याग्न नसक्ने मोहका कारण उसको बसाइ नै अधकल्चो भएको छ। ऊ मर्दापर्दा नेपाल नै आउँछ। तर, भविष्य उता देख्छ। फेरि यताको सम्पत्ति त्याग्न सक्दैन।
गत आमनिर्वाचनमा चितवनमा रवि लामिछानेप्रति जुन आकर्षण देखियो, त्यसमा पनि यही फ्याक्टरले भूमिका खेलेको छ। त्यहाँ अधिकांशका छोराछोरी बाहिर गएका छन्। उनीहरूलाई के लाग्यो भने मेरा सन्तान पनि कुनै दिन यसैगरी नेपाल फर्किनेछन् जसरी रवि लामिछाने फर्किए। रविमा उनीहरूले त्यो फर्किएको मानिस देखे। रविको नागरिकताको सङ्कटमा उनीहरूले पनि आफ्ना छोराछोरीका समस्या देखे।
यी सबै कारणले नेपाली डायस्पोराले नेपाली समाजमा सङ्कीर्ण राष्ट्रवादलाई नै मलजल गरिरहेको छ।
(लक्ष्मण श्रेष्ठसँगको कुराकानीमा आधारित।)