फोक्सोमा रक्तस्राव हुँदा वडाध्यक्ष रिजालको निधन: अस्पताल
निमोनियाका कारण फोक्सोमा रक्तस्राव हुँदा काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको अस्पतालले जनाएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि वडाध्यक्ष रिजाल भदौ १७ गते ग्रान्डी इन्टरन्याशनल अस्पताल भर्ना भएका थिए। उनका दुवै फोक्सामा निमोनिया भएको देखिएको थियो। उनलाई ‘सिभियर निमोनिया (भाइरल निमोनिया)’ भएको अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद बिजुक्छेले जनाएका छन्।
आईसीयूमा भर्ना गरिएका रिजाललाई निमोनियाका कारण ‘एआरडीएस (एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम)’ भएको डा. बिजुक्छेले जनाएका छन्। यस्तो हुँदा फोक्सोमा रक्तस्राव हुन्छ। जसले गर्दा श्वासप्रश्वासमा समस्या हुन्छ भने शरीरमा अक्सिजन पुग्दैन।
अस्पतालले जारी गरेको विज्ञप्तिमा ‘एआरडीएस भई रेफ्रिटोरी स्पेटिक शक/एक्युट किड्नी इन्जुरी’ भई उहाँको उपचारका क्रममा आज बिहान निधन’ भएको जनाइएको छ।
उनी गत वर्ष भएको स्थानीय तह निर्वाचनमा काठमाडौं-१६ बाट वडाध्यक्ष निर्वाचित भएका थिए। उनी नेपाली कांग्रेस काठमाडौं-७ का क्षेत्रीय सभापति पनि थिए।