कृषिमा जलवायु परिवर्तनको असर, ४४ प्रतिशत किसानको उत्पादन घट्यो
जलवायु परिवर्तनले किसान परिवारलाई मर्कामा पारेको नयाँ अध्ययनले देखाएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयको कृषि गणना २०७८ ले जलवायु परिवर्तनका कारण कृषि उत्पादन घटिरहेको देखाएको हो।
कृषि गणनामा जलवायु परिवर्तनका विषयमा किसानसँग सोधिएको प्रश्नमा ४४ प्रतिशत अर्थात् १८ लाख सात हजार किसानले आफूलाई जलवायु परिवर्तनबारे थाहा भएको बताएका थिए। जलवायु परिवर्तनबारे थाहा भएको बताउनेमध्ये ९१ प्रतिशतले जलवायु परिवर्तनका कारण आफ्नो कृषिकर्ममा प्रभाव परेको जवाफ दिएका थिए।
गणनाको प्रतिवेदनका अनुसार जलवायु परिवर्तनले कृषिकर्ममा प्रभाव पारेको बताउनेमध्ये ८५ प्रतिशत किसान परिवार अर्थात् १३ लाख ८७ हजारले जलवायु परिवर्तनका कारण उत्पादन घटेको जवाफ दिएका थिए।
विश्वव्यापी तापमान वृद्धिका कारण सिर्जित जलवायु परिवर्तनले नेपालमा वेलाबखत विपद् तथा प्रकोप निम्त्याउँदै आएको छ। खडेरी, अतिवृष्टि जस्ता घटनाक्रम बढ्नुलाई विज्ञहरूले जलवायु परिवर्तनका कारण सिर्जित समस्याका रूपमा अर्थ्याउने गरेका छन्।