मलखाद र कृषि औजारको प्रयोग बढ्दो
नेपालको कृषि कर्ममा यन्त्रीकरण बढ्दै गएको तथ्याङ्कले देखाएको छ।
बिहीबार सार्वजनिक गरिएको कृषि गणना अनुसार देशका किसान परिवारमध्ये ४० प्रतिशतले ट्र्याक्टर प्रयोग गरेर खेती गर्छन्। ४१ लाख ३० हजार किसान परिवारमध्ये १६ लाख २९ हजारले ट्र्याक्टरको प्रयोग गर्ने गरेको देखिएको हो।
एक दशकअघिको कृषि गणनाले २२ प्रतिशत किसान परिवारले मात्रै ट्र्याक्टर प्रयोग गरेको देखिएको थियो। कृषि गणना २०७८ अनुसार गणनाको दिन किसान परिवारसँग ५८ हजार ट्र्याक्टर रहेको देखिएको छ। यो २०६८ सालमा ३७ हजार मात्रै थियो।
त्यस्तै, कुल किसान परिवारमध्ये ११ प्रतिशतले पावर ट्रिलर र मिनिट्रिलर प्रयोग गरेको देखिएको छ। एक दशकअघि दुई प्रतिशत किसानले मात्रै यो सुविधा प्रयोग गर्थे।
त्यसैगरी, थ्रेसर (बाली झाट्ने औजार) प्रयोग गर्ने किसान परिवार २८ प्रतिशत नाघेका छन्। एक दशकअघि करीब २१ प्रतिशत किसान परिवारले मात्रै थ्रेसर प्रयोग गर्थे। गणनाले देशका ३० हजार किसानले दूध दुहुने मशिनबाट गाईभैंसीको दूध दुहिरहेको देखाएको छ।
पछिल्ला वर्षमा उन्नत तरीकाले खेतीपाती गर्ने चलन पनि बढेको छ। धान लगाउने किसानमध्ये ७६ प्रतिशतले धानमा रासायनिक मल प्रयोग गर्ने गरेको, २७ प्रतिशत किसान परिवारले उन्नत जातको धान लगाएको र १६ प्रतिशतले वर्णसंकर धान लगाएको देखाएको छ।
मकैबाली लगाउने किसानमध्ये ४९ प्रतिशतले मकैबालीमा रासायनिक मल प्रयोग गर्ने गरेका छन्।
त्यसैगरी, विषादीको प्रयोग पनि बढ्दो छ। ४५ प्रतिशत किसान परिवारले धानबालीमा विषादी प्रयोग गरेको बताएका छन्। तरकारीमा २७ प्रतिशत किसान परिवारले विषादी प्रयोग गरेका छन्।