खेतीपाती हुने जमीन घट्यो, प्लटिङले धान खेत मासिंदै
नेपालमा खेतीपाती हुने जमीन घटिरहेको देखिएको छ।
कृषि गणना २०७८ ले देशभर २२ लाख १८ हजार हेक्टर क्षेत्रफलमा खेतीपाती हुने गरेको देखाएको छ। यो एक दशकअघिको तुलनामा करीब १२ प्रतिशत थोरै हो।
२०६८ को कृषि गणनाले देशभर २५ लाख २६ हजार हेक्टर जग्गामा खेतीपाती हुने देखाएको थियो। खेतीपाती हुने जग्गा टुक्र्याएर आवासका लागि प्लटिङ गर्ने क्रम बढेपछि कृषिजग्गा घटेको अनुमान छ।
पछिल्ला वर्षमा देशका शहरी र नगरोन्मुख क्षेत्रमा घडेरी व्यवसाय फस्टाउँदै गएको छ। जसले गर्दा खेतबारीमा घर बनाउन प्लटिङ गर्ने क्रम बढ्दो छ। गणनाले खेतको क्षेत्रफल एक दशकमा एक लाख ५४ हजार हेक्टर घटेर १४ लाख ३० हजार हेक्टर भएको उल्लेख गरेको छ। धान सहितका अन्नबाली फल्ने जमीनको क्षेत्रफल पनि घटिरहेको गणनाले देखाएको छ। एक दशकको अवधिमा धानबाली लगाउने खेतको क्षेत्रफल दुई लाख ४० हजार हेक्टरले घटेको छ। तर, तरकारीबाली लगाउने क्षेत्रफल भने बढेको छ।
कृषि गणनाका अनुसार कृषि कार्यमा उपयोग भएको जग्गामध्ये चार प्रतिशतमा वनबनेलो विस्तार भएको, पोखरी तथा अरू प्रयोजनमा प्रयोग भएको छ।
गणनाले देशैभरि कृषि चलनको जग्गाको आकार घटिरहेको देखाएको छ। अहिले एक कृषक परिवारको भागमा ०.५५ हेक्टर मात्रै जग्गा रहेको देखिएको छ। यो एक दशकअघि ०.६८ हेक्टर थियो। ६ दशकअघि एक कृषक परिवारको भागमा खेतीयोग्य जग्गा सरदर १.११ हेक्टर थियो।
कृषि गणना अनुसार देशमा किसान परिवारको संख्या ४१ लाख ३० हजार छ। एक दशकअघि किसान परिवारको संख्या ३८ लाख ३१ हजार थियो। कृषि गणनाले ८२ प्रतिशत किसानको आफ्नै खेतबारी भएको देखाएको छ।
किसान परिवारले खेतीपाती गरेको जमीनमध्ये ५५ प्रतिशतमा मात्रै सिंचाइ सुविधा पुगेको गणनाले देखाएको छ। त्यसैगरी, कुल किसान परिवारमध्ये ११ प्रतिशतले पावर ट्रिलर र मिनिट्रिलर प्रयोग गरेको देखिएको छ। एक दशकअघि दुई प्रतिशत किसानले मात्रै यो सुविधा प्रयोग गर्थे।
गणनाले पशुपालनको स्थितिमा पनि परिवर्तन देखाएको छ। एक दशकअघि पशुपालन गर्ने किसान परिवार ३३ लाख ५४ हजार रहेकोमा यो बढेर ३४ लाख पाँच हजार पुगेको देखाएको छ। यो अवधिमा गाईगोरुको संख्या १८ लाख ७० हजारले घटेको पनि गणनाको प्रतिवेदनले उल्लेख गरेको छ। तर, यो अवधिमा बाख्रा, खसी र बोकाको संख्या भने ३० लाखले बढेको देखिएको छ।