‘उर्मिला’ बन्यो किम्फको बिजेता
किम्फ–२०१६ मा ‘उर्मिलाः माई मेमोरी इज माई पावर’ चलचित्र विजेता बनेको छ । २७ मंसिरमा सम्पन्न किम्फमा ‘उर्मिलाः माई मेमोरी इज माई पावर’लाई विजेता घोषणा गरिएको हो ।
जर्मनीका सुसन ग्लुथले निर्देशन गरेको ‘उर्मिलाः माई मेमोरी इज माई पावर’ले १५०० यूएस डलर नगद पुरस्कार पाएको छ । त्यस्तै १००० यूएस डलर नगदसहित नेपालका केसाङ क्षेतेनले निर्देशन गरेको ‘ट्रेम्बलिङ्ग माउन्टेन’ले दोस्रो पुरस्कार पाएका छ भने इटालीका फेडरिको सन्टिनिले निर्देशन गरेको ‘थ्रो द अननोन’ चलचित्रले ५०० यूएस डलरसहित तेस्रो पुरस्कार जितेको छ ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा जुरी स्पेसल मेन्सनल पुरस्कार दक्षिण अफ्रिकाका तेबोह इड्किन्सले निर्देशन गरेको ‘कमिङ्ग अफ एज’ र इटालीका मटिआ कोलम्बुले निर्देशन गरेको ‘सेकेन्ड पासो’ चलचित्रले पाएको छ ।
त्यस्तै नेपाली पानोरमा अन्तर्गत ‘इन सर्च अफ देवकी’ले बेस्ट डकुमेन्ट्रीको अवार्ड जितेको छ । देवकी बिष्टले निर्देशन गरेको ‘इन सर्च अफ देवकी’ले रु.५० हजार नगद पुरस्कार पनि पाएको छ ।
त्यस्तै पूजा गुरुङ र विभुषण बस्नेतले निर्देशन गरेको ‘दद्याः द उडपेकर्स अफ रोथा’ले बेस्ट फिक्सन अवार्ड जितेको छ । सो चलचित्रले रु.७५ हजार नगद पुरस्कार पाएको छ ।
यसैगरी उपेन्द्र राज पाण्डेयले निर्देशन गरेको ‘वियोन्ड द ह्वाइट केन’ले जुरी स्पेसल मेन्सन अवार्ड जितेको छ । यस वर्षको अडियन्स अवार्ड लिड बेल्चरले निर्देशन गरेको ‘मिरा’ चलचित्रले पाएको छ ।
त्यस्तै इसिमोड बेस्ट माउन्टेन फिल्म अवार्ड ‘अ सङ्ग फर बारपाक’ले पाएको छ । प्रदिप पोखरेलले निर्देशन गरेको ‘अ सङ्ग फर बारपाक’ले नगद १००० यूएस डलर पनि पाएको छ ।
किम्फको १४ औं संस्करण काठमाडौंको कमलपोखरीस्थित कुमारी हलमा २३ मंसिरमा सुरु भएको थियो । नेपाल र विदेशका गरी ८० चलचित्र सहभागि रहेका थिए ।