काठमाडौं-१६ का वडाध्यक्ष रिजालको निधन
काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ।
धापासीस्थित ग्रान्डी अस्पतालमा उपचाररत रिजालको आज बिहान करीब ८ बजे निधन भएको हो।
उच्च ज्वरो र श्वासप्रश्वासमा अप्ठ्यारो भएपछि उनलाई शुक्रबार अस्पताल भर्ना गरिएको थियो। अस्पताल पुर्याइँदा नै उनको छातीको दुवै भागले काम गर्न छोडेको उपचारमा संलग्न चिकित्सकले हिमालखबरलाई बताए।
त्यसपछि उनलाई भेन्टिलेटरमा राखेर शतप्रतिशत अक्सिजन दिएर उपचार गरिएको थियो। ती चिकित्सकका अनुसार उनको रगतमा समेत संक्रमण देखिएको थियो।
ׅ“अस्पताल पुर्याउँदा नै उनको छाती ‘कोल्याप्स’ भइसकेको थियो। रगतमा संक्रमण फैलिइसकेको थियो। संक्रमण कुन भाइरसका कारण भन्ने थाहा भएन,” उपचारमा संलग्न ती चिकित्सकले भने।
२०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)का लक्ष्मीरत्न तुलाधरलाई हराउँदै नेपाली कांग्रेसका तर्फबाट रिजाल काठमाडौं-१६ का वडाध्यक्ष निर्वाचित भएका थिए। उनी नेपाली कांग्रेस काठमाडौं-७ का क्षेत्रीय सभापति पनि थिए।