बाङ्लादेशलाई हराउँदै ‘सुपर फोर’ मा पाकिस्तानको विजयी शुरूआत
एशिया कपको ‘सुपर फोर’ अन्तर्गत गए राति सम्पन्न पहिलो खेलमा पाकिस्तानले जित हात पारेको छ।
बाङ्लादेशलाई सात विकेटले हराउँदै पाकिस्तानले विजयी शुरूआत गरेको हो। पाकिस्तानले बलिङतर्फ उम्दा प्रदर्शन गरेर बाङ्लादेशलाई ३८ ओभर चार बलमा १९३ रनमै अलआउट गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले ३९ ओभर तीन बलमा तीन विकेट गुमाएर लक्ष्य भेटाएको थियो।
पाकिस्तानको जितमा ब्याटिङतर्फ इमाम उल हकले ७८ रन बनाए। मोहम्मद रिजवानले पनि ६३ रनको महत्त्वपूर्ण पारी खेले। नेपाल विरुद्ध १५१ रनको विस्फोटक पारी खेलेका पाकिस्तानी कप्तान बाबर आजम भने हिजोको खेलमा १७ रनमै आउट हुन पुगे।
बलिङतर्फ भने पाकिस्तानका लागि ह्यारिस रउफले चार विकेट लिए। उनी ‘प्लेयर अफ द म्याच’ पनि भए। यस्तै, नसीम शाहले तीन विकेट लिए भने शाहीनशाह अफ्रिदी, फहीम अस्रफ र इफ्तिखार अहमदले समान एक एक विकेट लिए।
जितसँगै पाकिस्तानले दुई अङ्क प्राप्त गरेको छ। अब पाकिस्तानले अर्को खेल भारत विरुद्ध आइतबार खेल्नेछ। बाङ्लादेशले भने शनिबार श्रीलंकाको सामना गर्नेछ।
सुपर फोरमा रहेका पाकिस्तान, भारत, श्रीलंका र बाङ्लादेशले एकअर्का विरुद्ध खेल्नेछन्। विजयी शीर्ष दुई टोली उपाधि भिडन्तमा पुग्नेछन्।