कांग्रेसका सहमहामन्त्री यादवको अवस्था स्थिर: अस्पताल
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको अवस्था स्थिर रहेको र आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ।
पूर्व मन्त्री समेत रहेका यादवलाई बुधबार अपराह्न आक्रमण गरिएको थियो। काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रम सकेर बाहिरिने क्रममा नुवाकोटको विदुर नगरपालिका-७ का श्याम सापकोटाले धारिलो हतियार प्रहार गरेका थिए।
घाइते यादवलाई उपचारका लागि महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको थियो। उनको टाउकोको पछिल्लो भाग र गर्धनमा चोट लागेको सेन्टरले जनाएको छ।
ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. बद्री रिजालले प्रेस विज्ञप्ति जारी गरी यादवको टाउकोमा गम्भीर चोट लागेको जनाएका छन्। “टाउकाको पछिल्लो भाग तथा गर्धनमा हतियार प्रहार भएको र त्यसका कारण गहिरो घाउ भई रक्तस्राव भएको पाइएको थियो,” डा. खनालले भनेका छन्, “टाउकोको सीटी स्क्यान गर्दा हाल कुनै पनि आन्तरिक चोट नदेखिएको जानकारी गराइन्छ।”
उनको टाउकोको पछिल्लो भागमा रहेको घाउको शल्यक्रिया गरिएको ट्रमा सेन्टरले जनाएको छ। अपरेश गरी रक्तश्राव रोकिएको र घाउामा टाँका लगाइएको छ।
अहिले उनलाई चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको छ। “स्वास्थ्य अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा आईसीयूमा उपचार भइरहेको जानकारी गराइन्छ,” ट्रमा सेन्टरले भनेको छ।
पूर्व मन्त्री यादवलाई आक्रमण गर्ने सापकोटालाई प्रहरीले पक्राउ गरिसकेको छ।