यथार्थबाट टाढा छन् दार्जीलिङका लेखक
उही देशको खाँटी नागरिक भए पनि सिलिगुडी झर्ने बित्तिकै कुन चाहिंले ठग्छ भनेर सतर्क हुन थालिहाल्छौं। सिलिगुडीदेखि कलकत्ता पुग्दा अर्को हैरानी छ।
दार्जीलिङको वर्तमान अवस्था के छ?
२८ वर्षपछि काठमाडौं आएँ। यहाँ मलाई सबैले गरेको प्रश्न हो यो।
यो प्रश्नको जवाफ दिन निकै कठिन छ। समय संवेदनशील छ। यहाँ म एउटा कार्यक्रममा वक्ता बनेर आएँ। मञ्चमा दिइएको सीमित समयमा व्याख्या गर्न नपाई टुप्पो टुप्पो मात्र बोल्नुपर्यो। त्यसो हुँदा सन्दर्भ खुलाउन नसक्दा मैले बोलेका केही प्रसङ्गलाई लिएर भरमार गाली खानुपर्यो।
मैले सधैं भन्ने गर्छु, राजनीतिक नेपालसँग हामीलाई केही सरोकार छैन। उताको (दार्जीलिङको) राजनीति बेग्लै छ, यताको राजनीति बेग्लै छ। यहाँ कुन पार्टीले राज गर्छ, त्यो हाम्रो चासोको विषय होइन। हुनु हुँदैन पनि। तर, सांस्कृतिक नेपाल, साहित्यिक नेपाल हामी सबैको राजधानी हो। त्यो कसैले नकार्न सक्दैन।
किनभने लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल, बालकृष्ण समहरू पढेर हामीले नेपाली भाषा सिक्यौं। भानुभक्त आचार्य, धरणाीधर कोइरालाका रचना पढेर सिक्यौं। आज पनि कसैले प्रकृतिमाथिको एउटा राम्रो कविता भन् त भन्यो भने सम्झिने उही देवकोटा हो, जसले लेखेका छन्ः
फूलका ढोका आलुबखडा,
स्वाद देख्छ कविलाई,
जान्छु म मोती जगत्मा,
तगडा सुन्दरताको संसार खडा
बोलाउँछ आज मलाई।’
आरुको बोट फूल्दा सधैं देवकोटाको स्मरण हुन्छ। त्यसलाई कसरी नकार्न सक्छौं? नकार्नुपर्ने आवश्यकता नै छैन।
हामी साँच्चै एक्काइसौं शताब्दीको उदारवादी माहोलमा छौं, डिजिटल सभ्यतामा छौं र डिजिटल सभ्यताको सबै सुविधा उपभोग गरिरहेका छौं भने एउटा मान्छेलाई अर्को मान्छेसँग फरक देखाउनु अपराध हो।
कोही बढी ‘शिक्षित’ होऔंला त कोही कम, तर हामी सब बराबर हौं भन्ने धारणा लिएर हिंड्ने मान्छे हुँ म। तर, मैले नेपालीहरू कुनै न कुनै पुस्तामा नेपालबाटै उता गएका भन्दा सामाजिक सञ्जालमा गाली गरिरहेका छन्।
राजनीति गर्नेहरूले किताबको जुन पाना पल्ट्यो त्यही पढ्छन्। त्यसकै आधारमा मन्तव्य तयार पार्छन्। त्यो पानामा ‘जाँड खानु, रक्सी खानु, जुवा खेल्नु’ भनेर लेखेको छ भने किताबमा त लेखेको छ भन्दै त्यही गर्न थालिहाल्छन्। अर्को पानामा ‘यी सब नराम्रा कुरा हुन्, गर्नु हुँदैन’ भनेर लेखेको पढ्दैनन्। पाना पल्टाएकै हुँदैनन्। यो राजनीतिको समस्या हो।
पहिले र अहिलेको साहित्य
मलाई सोधिने अर्को प्रश्न हो- दार्जीलिङको पहिला र अहिलेको साहित्यमा के फरक छ?
यसको जवाफ दिंदा मलाई साथीहरूले ‘मिस्टर गुनासो’ भन्ने उपाधि दिन्छन्। निश्चय पनि सबै त नराम्रो भएको छैन। हामी इन्द्रबहादुर राईलाई समातेर पर्खिबस्न सक्दैनौं। तर, अहिलेको साहित्यले अहिलेकै समय समाउन सकिरहेको छैन।
हिजोको हाम्रो उताको साहित्यमा मूलतः मध्यमवर्गीय नेपाली परिवारको जीवन चित्रण गरिएको हुन्थ्यो। जस्तै- एक जना भाडाको घरमा बस्छ। भित्तामा एउटा किला ठोक्दा घर मालिक आउँछ र ‘के गरेको’ भनेर कराउँछ। रातिसम्म बत्ती बल्दा, ‘बत्ती मार्दे’ भन्दै आउँछ। अनि उसको सपना हुन्छ- म पनि यस्तै दुईतले घर बनाएर माथ्लो तलामा बसेर तल्लो तलामा भाडामा लगाउँछु। मैले खाएको जम्मै गाली त्यसैलाई खुवाउँछु।
अहिले हाम्रो उताको समाज त्यो मनोदशाभन्दा धेरै अगाडि बढिसकेको छ। समाज अघि बढे पनि साहित्यमा भने त्यही दुःखको कुरा, त्यही कमानको कुरा मात्र आइरहेको छ। समाज जहाँ पुगेको छ, साहित्यमा त्यो प्रतिबिम्बित भइरहेको छैन।
अहिले पनि बाटो नपुगेको सुदूर गाउँमा कुर्कुच्चा फुटेको, हाफपाइन्ट लगाएका वृद्ध गाईगोठमा गोबर सोहोरिरहेका हुन्छन्। ‘ए बाजे यो उमेरमा केको दुखेसो हो? छोराछोरी छैनन्?’ भनेर सोध्दा ‘अब उनीहरू ब्याङ्लोरतिर कम्प्युटरको इन्जिनीयरमा कुन्नि के के काम गर्छ’ भन्छन्। समाजको अवस्था यस्तो छ, साहित्यमा चाहिं आमाले गिट्टी कुटेको, छोरा लाहुरे भएर गएको, उतै मरेको, आमाले दुःख पाएको कुरा मात्रै आइरहन्छ।
पर्यावरणको चित्रणमा पनि त्यस्तै छ। गोर्खाल्यान्ड आन्दोलनका वेला ‘जहाँ चाँप, गुराँस फुल्छ, गोर्खाल्यान्ड हुन्छ/जहाँ डाँफे, मुनाल गाउँछ, गोर्खाल्यान्ड हुन्छ’ भन्ने गीत बन्यो। अहिले चाँप, गुराँस कहाँबाट पाउनु? डाँफे, मुनालको ठाउँ जति सबै काग र भँगेराले लिइसके। तर, हाम्रा स्रष्टाले त्यही कुरा दोहोर्याइरहेका छन्।
आफ्नो वरिपरिको यथार्थबाट नभई पुरानै पुस्तक पढेर त्यहीबाट मात्रै प्रेरित भइबस्यो र समाजबाट प्रेरित भएन भने त साहित्य पनि जम्दो रहेछ। मुद्दती खातामा जम्मा गरेको पैसा जस्तो। यति भन्दाभन्दै पनि केही आशा चाहिं देखिएको छ।
साहित्यको अर्को समस्या भाषाको हो। हामीले आफ्नो कुरा कलकत्ता र दिल्लीलाई सुनाउनुपर्छ। तर, हाम्राले लेख्छन् नेपालीमा। जुन न कलकत्ताले बुझ्छ न दिल्लीले। अनि आफ्नो घाउ आफैं कोट्यायो, आफ्नो बिलौना आफ्नाहरूलाई नै सुनायो। त्यसरी त केही पनि काम हुँदैन। बरु घुम्न आउने पर्यटकले लेखिरहेका छन्।
एउटा छक्क पार्ने प्रसङ्ग सुनाऊँ। ‘गोर्खाल्यान्ड’ शीर्षकको एउटा मोटो किताब हात पर्यो। लेख्ने मान्छे थिए स्टेट्सम्यानका रिपोर्टर रोमित बाग्ची। आधा किताबमा मसँग फोनमा बात मारेको कुरा पो लेखेको रहेछ। मलाई लाग्यो, ‘अरे योभन्दा राम्रो त मैले नै लेख्न सक्छु। मैले किन यसलाई यी सारा कुरा भनेछु।’
पहिला बेलायतीले आफ्नो स्वार्थ पूरा गर्न लेखे। पछि बंगालीले आफ्नो स्वार्थ पूरा गर्न लेखे। उनीहरूको लेखाइमा हरेक ठाउँमा ‘यिनीहरू (नेपालीभाषीहरू) सबै १९५० को सन्धिपछि मात्र आएका हुन्’ भन्ने भाव छ। जबकि सन् १९३६ मा भारत स्वाधीन हुनुअघि पहिलो पटक सिलिगुडी म्युनिसिपल कर्पोरेशनको चुनाव हुँदा जर्ज महाबर्ट सुब्बा सिलिगुडीका मेयर भएका थिए। उनी थिए, गोर्खा लिगका। अहिले त सिलिगुडीमा नेपाली खोज्नुपरे दबाई जस्तो खोज्नुपर्छ।
सन् १९५२ मा भारत स्वाधीन भएपछिको पहिलो आमचुनावमा लोकसभा र विधानसभाको चुनावमा पनि जर्ज महाबर्ट सुब्बा नै एमएलए भएर गएका थिए। आज महाबर्टको सन्तान खोज्ने हो भने जर्ज महाबर्ट स्कूल मात्रै भेटिन्छ, अरू केही पनि छैन। त्यस्तै, तिलकबहादुर छेत्रीले केटाकेटी खेलून् भनेर आफ्नो ठूलो जमीन दिएका थिए। हामी स्कूल पढ्दा तिलक मैदान भन्थ्यौं। कलेज पढ्दा त कञ्चनजंघा स्टेडियम पो भएछ।
राजनीतिमा कुनै एउटा ठूलो समुदायलाई कमजोर बनाउनुपर्यो भने अरू समुदायका मान्छे घुसाएर तिनलाई अल्पसंख्यक बनाइदिने र उनीहरूको आवाज निस्तेज पारिदिने गरिंदो रहेछ। त्यसो हुँदा उनीहरूको आवाज हराइजान्छ। यही काम सिलिगुडीमा भयो र बिस्तारै बिस्तारै दार्जीलिङमा पनि हुँदै छ।
अहिले कालेबुङतिर बंगालीको प्रशस्त आवतजावत हुन्छ। उनीहरूले त्यहाँ होमस्टे चलाइरहेछन्। हामी चाहिं अलिक अल्छी भयौं। अलिकति पैसा आयो भने मेहनत गर्न खोज्दैनौं। आइरिस लेखक अस्कर वाइल्डले भनेका छन्- ‘म स्वास्थ्यका लागि जे पनि गर्न तयार छु, तर मलाई बिहान छिटो उठ्नु, ठीक समयमा खानु, व्यायाम गर्न चाहिं नभन्नू।’
उनले भने जस्तै हामी पनि मेहनत बाहेक जे पनि गर्न तयार छौं। आरामसँग बसेर मुनाफाको ८० प्रतिशत अर्कोले खाँदा पनि ‘केही छैन, आफ्नो घर चले भइगयो’ भन्ने प्रवृत्ति छ।
किन सुन्दैन केन्द्र?
उही देशको खाँटी नागरिक भए पनि सिलिगुडी झर्ने बित्तिकै कुन चाहिंले ठग्छ भनेर सतर्क हुन थालिहाल्छौं। सिलिगुडीदेखि कलकत्ता पुग्दा अर्को हैरानी छ। भारतमा त हरेक प्रान्तको सीमा काट्ने बित्तिकै बेग्लै भाषा, बेग्लै संस्कृति, सबै कुरा बेग्लै हुन्छ। यसलाई अंग्रेजी लेखकहरूले ‘इन्डिया एज अ कन्टिनेन्ट, इट इज ए ऐनाथेमा’ (भारत एक महादेश, एक अभिशाप हो) पनि भनेका छन्। यो त ‘कन्ट्री’ हुनै सक्दैन, यो त कन्टिनेन्ट हो भन्छन् उनीहरू।
दिल्लीको एउटा सेमिनारमा कंग्रेसका एक जना सांसद अयरलाई हामीले बोलाएका थियौं। हामीले आफ्नो पीडा सुनायौं। ‘हाम्रो भाषाको इज्जत छैन, हामीलाई हेपिन्छ’ भन्यौं। उनले भने- इन्डियन भनेको त्यो इन्डियन हो जसले अर्काले जस्तो लुगा लगाउँदैन, अर्काले जस्तो खाँदैन, अर्काले जस्तो भाषा बोल्दैन।
उनले हामीलाई सान्त्वना दिन पनि त्यसो भनेका हुन सक्छन्।
हामीले आफ्ना कुरा सुनाउन अंग्रेजीमा लेख्नुपर्छ वा अंग्रेजीमा अनुवाद गर्नुपर्छ। हाम्रो समस्या के छ भने हामी छिटो सन्तुष्ट हुन्छौं। एउटा किताब अंग्रेजीमा छाप्छौं, दार्जीलिङकै दुई-चार जनाले पढेपछि पुगिहाल्छ। अलिकति ठूलो सोच्यौं भने नेपाल हेर्छौं। किनभने नेपाल हाम्रो साहित्य बजारको केन्द्र हो। नेपालबाट छापिंदा त्यसले पक्का मान्यता पाएको बुझिन्छ। त्यसभन्दा उता हामीले सोच्न सकेका छैनौं।
तर, अहिलेको पुस्ताले भने अंग्रेजीमा नै लेख्दै छ। सत्यदीप छेत्रीको गोर्खाल्यान्ड डायरी आयो। फातसुङ र फुलाङेको अंग्रेजी अनुवाद भयो। तसर्थ, त्यति निराशालाग्दो परिवेश छैन अहिले।
हाम्रो आवाज भारतकै अन्य समुदायले सुन्नुपर्छ भन्ने धारणा भर्खरभर्खर मात्र आउन थालेको छ। योभन्दा पहिला थिएन। जबकि अन्य भाषाका त नेपालीमा प्रशस्त अनुवाद भएका छन्। हामीले रवीन्द्रनाथ टैगोरको गीताञ्जली त नेपालीमै पढेका हौं। हाम्रो अवस्था र पहिचान के हो भन्ने जनाउन पनि अंग्रेजीमा अनुवाद हुन जरुरी छ।
मेरो एउटा साथीले बेलायत जाँदा आफूले अनुवाद गरेको भूपी शेरचनको कविता ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ सुनाएछन्। अक्सफोर्डमा उनले त्यो कविता सुनाएपछि अंग्रेज स्रोता छक्क परेछन्। ‘ओहो गोर्खाहरूले पनि यस्तो दामी कविता लेख्छन्!’ भनेर दङ्ग परेछन्। उनीहरूले त हामीलाई खुकुरी बोक्ने सिपाही मात्र देखेका थिए। हामीले कविता लेखेको तिनलाई के थाहा?
मेरा साथीले पनि उनलाई जवाफ दिएछन्, “यिनी श्रेष्ठ कवि त होइनन्, यिनीभन्दा राम्रा राम्रा लेख्नेहरू पनि छन्, तपाईंहरूले नपढेको मात्रै हो।”
हाम्रो चित्र नै लडाइँमा जाने बहादुरको मात्र बनाइएको छ। यो बुझाइलाई चिर्न धेरैभन्दा धेरै नेपाली साहित्य अनुवाद हुनुपर्छ। पुरानोले मात्रै पुग्दैन, अहिले लेख्दै गरेकाहरूको पनि अनुवाद हुनुपर्छ। त्यसरी अनुवाद गरेर आफूलाई बलियोसँग प्रस्तुत गर्ने काम अफ्रिकाले गरेको छ। नाइजेरियाली उपन्यासकार चिनुवा अचिवेले थिङ्स फल अपार्ट लेखेपछि अंग्रेजीमा अफ्रिकी साहित्य पढ्ने र अनुवाद गर्ने लहर नै चल्यो।
त्यसैलाई आधार बनाएर चिमामान्दा अदिचीहरू जन्मिए। अहिले अदिची धेरै पढिने लेखक बनेकी छन्। त्यो अवसर हामीलाई पनि छ। हामी किन लेख्दैनौं? भाषाका कारण हामीमा एक खालको हिचकिचाहट छ। त्यस्तो हिचकिचाहट हुनु हुँदैन। भाषा सुधार्न सम्पादक पाइहालिन्छ। विचार पो दह्रो हुनुपर्यो त। विचार नै ठीक छैन भने व्याकरण सुधारेर मात्रै काम छैन।
कायम छ सद्भाव
दार्जीलिङको नेपाली समाजको अर्को विशेषता जातीय सद्भाव हो। हालसम्म त्यहाँ जातीय सद्भाव कायम छ। केही अघि सरकारले जातको आधारमा बोर्ड बनाइदिएपछि केही समय समस्या नआएको पनि होइन। बोर्डको अध्यक्ष हुन पाइने, पैसा आउने र बोर्डले नै घर बनाइदिने भएपछि विभिन्न जातका वेशभूषाहरू पुरातत्त्व विभाग लगाएर उत्खनन गरेर पनि निकालिए। त्यति वेला हामीले नयाँ नयाँ वेशभूषा देख्न पायौं। तर, त्यो काम त्यतिसम्म मात्र भयो। त्यहाँदेखि उता जान सकेन।
दार्जीलिङको जनसांख्यिक बनोटले पनि जातीय सद्भाव कायम राख्न सघाएको छ। त्यहाँको समाजमा कुनै पनि जातको बाहुल्य छैन। उदाहरणका लागि, कसैले ‘म मगर हुँ, मगर भाषाको विकास गर्छु’ भनेर लेख्यो भने उसले आफू बाहेक अर्को पाठक पाउँदैन। लेख्नुको उद्देश्य नै धेरै मान्छेले पढून्, धेरै पाठककहाँ जाओस् भन्ने हो। त्यसका लागि जुन भाषाका पाठक धेरै छन्, त्यसैमा लेख्नुपर्यो।
त्यसले गर्दा पनि होला, बाध्यतावश हाम्रोमा जातीय भेदभाव छैन। परिवेश खुला छ। भारतीय जनता पार्टी दार्जीलिङका अध्यक्ष रोमन क्याथोलिक चर्चका कल्याण देवान छन्, क्रिश्चियन छन्। तर, भाषणको शुरूमै ‘यदा यदा हि धर्मस्य ग्लानिर्भवती भारत’ भन्छन्।
यसो हुनुमा अंग्रेजको पनि भूमिका छ। उनीहरूले स्कूल खोले। त्यो हाम्रा लागि खोलेका थिएनन्। उनीहरूकै नानीहरूका लागि खोलेका थिए। उसो त चौरस्ता पनि उनीहरूकै लागि बनाए। हामीले त ‘बाई डिफल्ट’ पायौं। उनीहरूले गोर्खाका लागि भनेर त कहाँ बनाएका हुन् र? आफ्नै लागि बनाएका थिए। उनीहरूले देश छोडेर जाँदा हाम्रो भएको हो।
तर, हामीले अंग्रेजी भाषा र संस्कृति जान्न पायौं। त्यो हाम्रो व्यवहारमा पस्यो। त्यसले गर्दा धर्मका नाममा, जातका नाममा विभाजन हुने सम्भावना चाहिं अहिलेसम्म पटक्कै छैन। भविष्यमा के होला भन्न सकिन्न।
(मदन पुरस्कार पुस्तकालयद्वारा भदौ १८ गते पाटनमा आयोजित ‘भाषा र गोर्खाल्यान्डः हिजो, आज र भोलि’ विषयक संवादमा गोर्खाल्यान्ड आन्दोलनका अगुवा एवं वनस्पतिविद् छेत्रीले राखेको मन्तव्यको सम्पादित अंश। छेत्रीसँग संवाद देवेन्द्र भट्टराईले गरेका थिए भने भने कार्यक्रम सञ्चालन अनिता भेटवालले गरेकी थिइन्।)