म देउवाका तर्फबाट सभापतिको उम्मेदवार बन्न सक्छु: शशांक कोइराला
नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाका तर्फबाट सभापतिको उम्मेदवार बन्न सक्ने बताएका छन्।
भरतपुर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै कांग्रेस केन्द्रीय सदस्य डा. कोइरालाले यस विषयमा टुङ्गो लाग्न बाँकी रहेको बताए। पछिल्लो समय सभापति देउवाका तर्फबाट आगामी महाधिवेशनमा शशांक कोइराला उम्मेदवार बन्न सक्ने चर्चा चलिरहेको विषयमा प्रश्न गरेपछि उनले उक्त जवाफ दिएका हुन्।
कांग्रेसको आगामी महाधिवेशनमा सभापति देउवाको समूहबाट उम्मेदवार हुने सम्भावना कत्तिको छ भन्ने प्रश्नमा डा. कोइरालाले भने, “सम्भावना छ। किन छैन? नहुने भन्ने के छ?”
यस विषयमा पार्टीका साथीहरूसँग सल्लाह गरेर मात्रै सभापतिको उम्मेदवारीको विषयमा निर्णय लिने उनको भनाइ थियो। सभापति देउवाले भने यस विषयमा केही नभनेको उनको जिकिर थियो।
“सभापतिजीले केही नभनेको भए पनि पार्टीका साथीहरूको विचार यही नै हुन सक्छ,” डा. कोइरालाले भने, “पूर्वदेखि पश्चिमसम्म साथीहरूसँग भेटघाट गरौं, उहाँहरूको विचार सुनौं, अनि मात्रै निर्णय गर्छु।” -रासस