कर्मचारीले झुलाएको भन्दै जनप्रतिनिधि नै विरोधमा
कर्मचारीले काम नगरेर झुलाएको भन्दै उपभोक्ता मात्रै होइन, जनप्रतिनिधि पनि विरोधमा उत्रिएका छन्।
झापाको मेचीनगर नगरपालिका-४, बाहुनडाँगीका ६० वर्षीय देवीप्रसाद आचार्यले वडा कार्यालयको सहयोगमा हात्तीमैत्री किसान समूह गठन गरी बेमौसमी तरकारी खेती गर्दै आएका छन्। तरकारी खेतीका लागि वडा कार्यालयले एक लाख रुपैयाँ अनुदान सहयोग गरेको थियो। तर, त्यही रकमको फरफारकका लागि उनलाई हैरानी भएको छ।
उनले गत असार ६ गते नगरपालिकामा फाइल पेश गरेका थिए। आर्थिक वर्ष सकियो, तर भुक्तानी भएन।
नयाँ आर्थिक वर्ष शुरू भएको पनि दुई महीना पुग्दै छ। अझै गत आर्थिक वर्षमा काम गरेको रकम पाएका छैनन्। “लेखा शाखाबाट एक-दुई दिन भन्दै तीन महीना बिताए,” कृषक आचार्य भन्छन्, “लेखाका मान्छेले हुन्छ भन्न पनि छोडेनन्, रकम पनि भुक्तानी गरिदिएनन्।”
यस्तै हैरानी मेचीनगर-४ कै शुभ महिला समूहकी अध्यक्ष नीता थापाले पनि खेपेकी छन्। सम्झौता बमोजिम दिनुपर्ने रकमको अहिलेसम्म भुक्तानी नभएको थापा गुनासो गर्छिन्। “लेखा शाखा प्रमुखको कार्यकक्षमा जहिल्यै ताल्चा लागेको हुन्छ, चेक बनाउने ठाउँमा एकदुई दिन भन्नुहुन्छ, तर चेक बन्दैन,” उनले सुनाइन्।
उनी कैयौं पटक नगरपालिका कार्यालय धाइसकेकी छन्। अन्य उपभोक्ताको पनि यस्तै गुनासो हुन्छ- दशौं पटक नगरपालिका कार्यालय धाउँदा पनि भुक्तानी हुँदैन।
यसरी नगरपालिकाले झुलाएर राखेका उपभोक्ता कैयौं भएको मेचीनगर-४ का वडाध्यक्ष अर्जुन कार्की बताउँछन्। “काम सकेर रकम भुक्तानी नपाउने समस्या भोगेका सेवाग्राही हाम्रो वडामै दर्जनभन्दा बढी छन्,” कार्की भन्छन्।
नगरपालिकाका कर्मचारीले हैरानी दिन थालेपछि सार्वजनिक रूपमै विरोध गर्नुपरेको उनी बताउँछन्। मेचीनगर-४ का वडाध्यक्ष कार्की, वडा नं. १० का वडाध्यक्ष नारायण खनाल र वडा नं. १३ का वडाध्यक्ष कृष्ण सिग्देलले भदौ १८ मा नगरपालिका कार्यालय परिसरमै पत्रकार सम्मेलन गरेरै कर्मचारीप्रति गुनासो गरे। कर्मचारीका कारण सेवाग्राहीले दुःख पाएको भन्दै अब नसच्चिए आन्दोलनमा उत्रिने बताए।
मेचीनगरमा सेवाग्राहीले समस्या झेल्न थालेको अहिले मात्रै होइन। कर्मचारीबीचको विवादका कारण तीन वर्षदेखि सेवाग्राही कठिनाइ झेलिरहेका छन्। कहिले प्रशासकीय अधिकृत त कहिले लेखा शाखाका प्रमुखको सनकले अप्ठ्यारो भइरहेको जनप्रतिनिधि बताउँछन्।
२०७९ पुसमा जनप्रतिनिधिले भनेको काम नगरेको, बजेट निकासा नगरेको लगायत आरोप प्रमुख प्रशासकीय अधिकृतमाथि लगाएका थिए। तत्कालीन प्रशासकीय अधिकृत राजकपुर चम्लागाईंले पुराना कर्मचारीले आफूलाई असहयोग गरेको आरोप लगाएका थिए।
कर्मचारीबीचको विवाद चर्किंदै गएपछि कामकाज प्रभावित भएको थियो। त्यसमै कर्मचारी र जनप्रतिनिधिबीच पनि विवाद थपिएको थियो। त्यसपछि चम्लागाईंलाई पुस २९ गते कोशी प्रदेश मुख्यमन्त्रीको कार्यालयमा सरुवा गरियो।
त्यसको चार महीनापछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महेश पराजुलीलाई प्रमुख प्रशासकिय अधिकृतका रूपमा पठाएको थियो। त्यसपछि प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिबीचको विवाद साम्य भएको थियो।
त्यो विवाद साम्य नहुँदै स्थानीय सरकारले नियुक्त गरेका सामाजिक शाखा र लेखा शाखा प्रमुखबीच विवाद उत्पन्न भयो। सामाजिक शाखा प्रमुख अनन्तप्रकाश वस्ती र निजामती कर्मचारी समायोजन रोजेर लेखा शाखा प्रमुख बनेका पद्म कार्कीबीच ज्येष्ठताको विषयमा विवाद शुरू भयो। दुई वर्षदेखिको विवादले अहिलेसम्म कामकाज प्रभावित भइरहेको छ।
यसलाई लिएर कार्की उच्च अदालत, विराटनगर पुगे। उच्च अदालतले वस्तीलाई ज्येष्ठता कायम गरिदिएपछि कार्कीले सर्वोच्च अदालत गुहारेका छन्। सर्वोच्चले एक वर्षअघि दुवैलाई समान हैसियतमा राख्न अन्तरिम आदेश दिएको थियो। यसमा फैसला हुन बाँकी रहेको कार्की बताउँछन्।
यही विवादका कारण कर्मचारी विभाजित छन् भने सेवाग्राही र जनप्रतिनिधिले हैरानी खेप्नुपरिरहेको छ। “दुवै जनाबीच मुखले केही नभएको जस्तो गरे पनि व्यवहारमा त्यस्तो छैन,” एक कर्मचारी भन्छन्। जसले गर्दा सामाजिक शाखाले छिटो गरेको काम लेखा शाखाले अड्काउने, लेखा शाखासँग सम्बन्धित मान्छेको काम सामाजिक शाखाले अड्काउने गरेको सेवाग्राही बताउँछन्। यसमा प्रमुख प्रशासकीय अधिकृतले पनि केही गर्न नसकेको जनप्रतिनिधिको आरोप छ।
यो मुद्दा अहिलेको जनप्रतिनिधि-कर्मचारी विवादसँग सम्बन्धित नभएको वस्ती र कार्कीको भनाइ छ। वस्ती भन्छन्, “अहिले सामाजिक सञ्जालमा हामी दुईबीचको विवादको कुरा निकालेर मुछ्न खोजिएको छ, त्यसमा मेरो कुनै संलग्नता छैन।”
त्यसमा कार्की पनि सहमति जनाउँछन्। तैपनि कर्मचारीबीचको विवादका कारण काममा अप्ठ्यारो भइरहेको उनी स्विकार्छन्।
यो विवाद कामकाजमा मात्रै रोकिएको छैन, हातपातसम्म पुगेको छ। लेखा शाखा प्रमुख कार्कीमाथि भदौ ८ मा कार्यालयकै कर्मचारीले हातपात गरेका छन्। “मलाई कर्मचारीले नै हातपात गरे,” कार्की भन्छन्, “मैले इलाका प्रहरी कार्यालय काँकडभिट्टामा उजुरी दिएको छु।”
यसअघि पनि पटक पटक अभद्र व्यवहार हुँदै आएको उनको आरोप छ। ज्यान मार्ने धम्की आएकाले कार्यालयमा काम गर्न नसक्ने भन्दै बसेका छन्। जसले गर्दा लेखा शाखाको सबै काम रोकिएको छ।
मेचीनगर प्रमुख प्रशासकीय अधिकृत महेश पराजुली यो घटना हुँदा आफू कार्यालयमा नभएको बताउँछन्। तालीमको सिलसिलामा काठमाडौंमा रहेको वेला घटना भएको बताउँदै पराजुली भन्छन्, “अहिले लेखा शाखा प्रमुख कार्की सरले यस्तो अवस्थामा काम गर्न नसक्ने बताउनुभएको छ। हामी छलफल गरेर छिटै निष्कर्ष निकाल्छौं।”
मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकी र उपमेयर मीना पोखरेल काठमाडौं गएका छन्। दुवै जना कामको सिलसिलामा काठमाडौं गएको प्रमुख प्रशासकीय अधिकृत पराजुली बताउँछन्। मेयर र उपमेयर आएपछि समस्या समाधान हुने उनको भनाइ छ।
तीन वटा वडाका अध्यक्षले भने कर्मचारीले पटक पटक अनेक विवाद झिकेर कामकाज प्रभावित पारिरहेको आरोप लगाएका छन्। उनीहरूले तत्काल सेवाग्राहीको रकम भुक्तानी गर्न चेतावनी दिएका छन्। “तत्काल सेवाग्राहीको रकम भुक्तानी नगरे कार्यालयमा तालाबन्दी गर्छौं,” वडाध्यक्ष अर्जुन कार्की भन्छन्।
कहिले प्रशासकीय अधिकृत, कहिले लेखा र सामाजिक शाखा प्रमुख त कहिले जनप्रतिनिधिसँगको विवादले मेचीनगरको कामकाज प्रभावित हुँदै आएको छ। कर्मचारी र जनप्रतिनिधिको विवादले सेवाग्राही मर्कामा पर्दै आएका छन्।