बुसान महोत्सवमा तीन नेपाली फिल्म
पछिल्लो समय नेपाली फिल्म विश्वका प्रसिद्ध महोत्सवमा छनोट भइरहेका छन्।
ठूलो लगानी र मौलिक कथालाई छनोट गरिने महोत्सव मार्फत नेपाली फिल्म निर्माणमा समेत बजेट सहयोग भएको छ। टोरन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सवको ४८औं संस्करणमा पहिलो प्रदर्शनी गर्ने तयारीमा रहेको फिल्म गाउँ आएको बाटो दक्षिण कोरियाको प्रसिद्ध ‘बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ मा समेत छनोट भएको छ।
‘विन्डो अन एशियन सिनेमा’ अन्तर्गत छनोट भएको फिल्मलाई नवीन सुब्बाले निर्देशन गरेका हुन्। सुब्बाले भने, “यसले हाम्रा फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्न सघाउने विश्वास छ।”
राई जातिको सामाजिक पृष्ठभूमिमा तयार भएको फिल्ममा गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको छ। फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बा लगायत कलाकारले अभिनय गरेका छन्।
त्यस्तै, सौरभ राईले निर्देशन गरेको गुराँस पनि बुसानमा छनोट भएको छ। चेक रिपब्लिकको ‘कार्लोभी भारी अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ मा पहिलो प्रदर्शनी भएको फिल्ममा हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीया बालिकाको आँखाबाट कथा प्रस्तुत गरिएको छ।
दार्जीलिङको बदलिंदो आर्थिक र सामाजिक सम्बन्धलाई समेत प्रस्तुत गरिएको फिल्मको लेखन निर्देशक राई नै गरेका हुन्। फिल्ममा तुलसी खवासले शीर्ष भूमिका निर्वाह गरेका छन् भने खगेन्द्र लामिछाने पिताको भूमिकामा छन्। अभिनेता लामिछानेले विश्वले नेपालको मौलिक कथा हेर्न चाहेको बताए।
“हाम्रो फिल्म अन्तर्राष्ट्रिय महोत्सवमा छनोट हुनु नै हाम्रो मौलिकता त्यहाँ रुचाइनु हो। अहिले भेनिस, बुसान र टोरोन्टो जस्तो विश्वकै प्रसिद्ध महोत्सवमा हाम्रा चलचित्र छन्। यो गौरवको विषय हो,” उनले भने।
यससँगै निरञ्जन भेटवालले निर्देशन गरेको लघुचलचित्र दी विटनेस ट्री पनि बुसानमा छनोट भएको छ। यो एशियाली लघुचलचित्र विधामा छानिएको हो। दक्षिणएशियामा प्रतिष्ठित मानिने बुसानको नयाँ संस्करण असोज १७ देखि २६ सम्म चल्नेछ।