ग्लोबल आइएमई ब्यांकको क्यास तथा चेक डिपोजिटर मशिन सञ्चालन
ग्लोबल आइएमई ब्यांंक लिमिटेडले नगद तथा चेक जम्मा गर्ने मशिन सञ्चालनमा ल्याएको छ।
मशिन सञ्चालनमा आएसँगै अनुकूल समयमा ब्यांंकमा रहेका क्यास तथा चेक डिपोजिटर मशिन मार्फत ग्लोबल आइएमई ब्यांंकमा रहेको खातामा नगद जम्मा गर्न सकिनेछ। ब्यांंकले पाँच वटा क्यास डिपोजिटर र पाँच वटा चेक डिपोजिटर मशिन सञ्चालनमा ल्याएको हो।
काठमाडौंका कमलादी र न्यूरोड तथा उपत्यका बाहिर इटहरी, नारायणगढ र बुटवल शाखामा क्यास डिपोजिटर मशिन सञ्चालनमा ल्याएको ब्यांकले जनाएको छ। त्यस्तै, काठमाडौंका कमलादी, न्यूरोड, कुलेश्वर तथा काठमाडौं बाहिर पोखरा र वीरगन्ज शाखामा चेक डिपोजिटर मशिन सञ्चालनमा ल्याएको हो।
ब्यांकको कमलादी शाखामा आयोजित एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ब्यांक सञ्चालक समितिमा अध्यक्ष चन्द्रप्रसाद ढकालले मशिनको उद्घाटन गरेका छन्।
मशिन उद्घाटन गर्दै ढकालले भने, “यो मशिन इफिसियन्सी, सुविधा र सुरक्षाको मिश्रण हो। यसबाट ग्राहकलाई अनुकूल समयमा, विना कुनै कागजी प्रक्रिया सुविधाजनक हिसाबले क्यास तथा चेक डिपोजिट गर्न सहयोग पुग्नेछ।”