वर्षाले खेल रद्द हुँदा नेपाल समूह उपविजेता
मलेशियामा जारी आईसीसी महिला टी-२० विश्वकप एशिया क्षेत्र छनोट अन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीचको खेल वर्षाको कारण रद्द भएको छ।
मलेशियाको क्वालालम्पुरस्थित सेलाङग्रटर्फ क्लबमा वर्षाका कारण टस समेत हुन सकेन। खेल रद्द भएपछि दुवै टोलीले एक एक अङ्क बाँडेका छन्।
यससँगै यूएई समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ भने नेपाल समूह ‘ए’ को उपविजेता बनेर सेमिफाइनलमा पुगेको छ।
दुवै टोलीले समान पाँच खेलमा नौ अङ्क जोडेको भए पनि रनरेटका आधारमा यूएई नेपालभन्दा माथि छ। नेपालले अब समूह ‘बी’ को विजेतासँग यही भदौ २२ गते सेमिफाइनल खेल्नेछ। नेपाल फाइनलमा पुग्न सके सन् २०२४ मा हुने ग्लोबल टी-२० विश्वकप छनोट खेल्न पाउनेछ।
त्यसैगरी समूह ‘बी’ मा हङकङ तीन खेलमा ६ अङ्कका साथ शीर्ष स्थानमा छ। थाइल्याान्ड पनि समान तीन खेलमा पाँच अङ्कका साथ दोस्रो स्थानमा छ।
हङकङ र थाइल्यान्डबीचको खेल आजै हुनेछ। खेलको विजेतासँग नेपालले सेमिफाइनलमा खेल्नेछ भने यूएईले उपविजेतासँग खेल्नेछ।
यसअघि नेपाल समूह चरणको खेलमा अपराजित थियो। नेपाल घरेलु टोली मलेशियालाई पाँच रन, बहराइनलाई १० विकेट, भूटानलाई तीन विकेट र कतारलाई नौ विकेटले पराजित गर्दै विजयी भएको हो।