‘एउटा घटना जसले मलाई राजनीतिमा डोर्यायो’
‘मान्छेमा निराशासँगै यति धेरै अपेक्षा छ त्यसले पनि मलाई सोच्न बाध्य बनायो। नेतृत्व भनेको महान् काम हो भन्ने लाग्यो।’
ब्यांकिङ क्षेत्रको तीन दशक लामो अनुभव हासिल गरेका अनिलकेशरी शाह गत असार पहिलो साता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरे। उनी अहिले पार्टीको तालीम विभाग प्रमुखको जिम्मेवारीमा छन्। उनै शाहसँग राजनीतिक जीवन र भावी योजनाबारे पत्रकार कुन्द दीक्षितले गरेको संवादको सम्पादित अंश:
ब्यांकरका रूपमा परिचित हुनुहुन्छ। राजनीतिमा आउने प्रेरणा कसरी पाउनुभयो?
३१ वर्षको ब्यांकिङ करिअरमा १७ वर्ष त म सीईओ नै भएँ। म जहिले पनि युवा पुस्तालाई मौका दिनुपर्छ भन्दै आएँ। तर, आफू चाहिं १७ वर्षदेखि कुर्सी समाएको समायै गर्ने भएकाले कुरै मिलेन। त्यही भएर नयाँ केही गरूँ भनेर ‘लिड नेपाल इन्क’ भन्ने संस्था मार्फत नेतृत्व विकासको काममा अग्रसर भएँ। त्यही क्रममा छोरीको दीक्षान्त समारोहमा न्यूयोर्क गएको थिएँ।
त्यहाँबाट हामी ‘उबर’ चढेर बोस्टन जाँदै थियौं। उबर चालकले गाडीको ऐनामा हेरेर ‘अनिल शाह होइन?’ भनेर सोधे। अनि ‘तपाईं पनि नेपाली’ भन्दै कुराकानी भयो। उनले कुरैकुरामा मलाई राजनीतिमा किन नगएको भनेर सोधे। मैले इच्छा नभएको र नयाँ पार्टीहरू आएका छन् नि भनें। उनले मलाई ‘तपाईं जस्तो मान्छे राजनीतिमा नलाग्ने हो भने हाम्रो देशको भविष्य उज्ज्वल देख्दिनँ’ भन्दै नयाँ पार्टीमै लाग्न आग्रह गरे। उनले त म राजनीतिमा प्रवेश गरें भने एक हजार डलर आर्थिक सहयोग गर्ने पनि बताए। आफू मात्र होइन अरू सय जना साथीले पनि हजार हजार डलर दिने बताए।
उनीसँग छुट्टिएर हामी बोस्टन गयौं। त्यहाँ हावर्ड, एमआईटी, टफ्ट्का विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दा एक जना विद्यार्थीले मलाई ‘तपाईंले १०/१५ वर्ष भयो हाम्रो पोखरी फोहोर छ, कसले फोहोर गर्यो, भन्दाभन्दा हाम्रो कान पाकिसक्यो। या त तपाईं यो पोखरीबारे कुरा गर्न छोडिदिनुस् या त पोखरीभित्र पसेर सफा गर्ने प्रयास गर्नुस्। तपाईंले प्रयास गर्ने हो भने हामी तपाईंलाई साथ दिन्छौं’ भने।
नेपाल फर्केपछि म रास्वपा प्रवेश गरें। त्यसको जानकारी सामाजिक सञ्जालमा हालें। भोलिपल्ट मेसेन्जरमा फोन आयो। मंगल श्रेष्ठ (उबर चालक)ले आफ्नो प्रतिबद्धता कायमै रहेको बताउँदै हजार डलर पठाउन खाता नम्बर मागे। यो कुराले मेरो आत्मालाई छोयो।मान्छेमा निराशासँगै यति धेरै अपेक्षा छ। त्यसले पनि मलाई सोच्न बाध्य बनायो। नेतृत्व भनेको महान् काम हो भन्ने लाग्यो।
तपाईंले रास्वपा पार्टीमै चाहिं जान्छु भनेर सोचविचार पनि गर्नुभयो?
म रास्वपामा जान्छु भन्ने निश्चित थिएन। मेरो पारिवारिक सम्बन्ध नेपाली कांग्रेससँग थियो। सुवर्णशमशेर मेरी श्रीमतीका हजुरबुबा हुन्।
आखिर मैले पार्टीमा जानु भनेको पदका लागि त होइन। पारिवारिक लहरो समातेर म यस्तो मान्छे हुँ है भनेर देखाउनु पनि होइन। मलाई त केही गर्न सकिन्छ कि भनेर प्रयास गर्नु थियो। यो सन्दर्भमा मलाई रास्वपा नै ठीक लाग्यो। पार्टीको अवधारणा र मेरो सोच पनि उस्तै छ।
रास्वपाले तपाईंलाई तालीम विभाग प्रमुख बनाएको छ, नेताहरूलाई कस्तो खालको तालीम चाहिंदो रहेछ?
नेताहरूमा ‘हामीले नै तालीम दिने हो हामीलाई तालीम चाहिंदैन’ भन्ने सोच छ। त्यही भएर देश यो अवस्थामा पुगेको हो। हाम्रो पार्टीमा चाहिं नेताहरू हुनुहुन्न, हामी जस्तै सर्वसाधारण छौं। देशलाई कसरी बनाउने भन्ने सोच छ।
जब मैले पार्टी प्रवेश गरें, त्यो वेला पार्टीको वार्षिकोत्सवमा केन्द्रीय कार्यसमिति सदस्य, सांसद लगायत धेरै मान्छेले म रास्वपा प्रवेश गरेका कारण आफूहरू खुशी भएको बताएका थिए। उनीहरू मैले तालीम दिने कुराले उत्साहित भएको पनि बताउँथे। अझ आफू राम्रो नेता बन्न चाहेकाले बाटो देखाइदिन पनि आग्रह गरेका थिए।
हामीले अहिलेसम्म लुम्बिनी र कोशी प्रदेशमा तालीम चलाइसकेका छौं। पार्टी सभापति र उपसभापतिले शीर्ष नेताहरूलाई पनि तालीम प्रदान गर्नुपर्यो भनेकाले हालसालै हामीले एक दिन पूरै हाम्रो भिजन कस्तो हुनुपर्छ भनेर मन्थन गर्यौं। त्यो क्रममा हामीले हाम्रा सबल र दुर्बल पक्षलाई केलायौं।
नेतालाई दिने तालीम चाहिं नेतागिरी कसरी गर्ने भन्नेमा हुन्छ कि कुनै विषयवस्तुमा केन्द्रित हुन्छ?
सबैलाई एकै खालको तालीम दिइँदैन। उदाहरणका लागि पार्टीको शीर्ष नेता, संसदीय समिति र केन्द्रीय समितिलाई ‘टीम बिल्डिङ’ र ‘सिनर्जी’ को तालीम आवश्यक हुन्छ। हामी प्रदेशमा जाँदा चाहिं पार्टी के हो, पार्टीको उद्देश्य के हो, हाम्रो संविधानले के अधिकार दिएको छ, हाम्रो संस्कृति के छ, हाम्रो लक्ष्य के हो भन्नेबारे तालीम दिन्छौं।
वडा र प्रदेश तहमा उम्मेदवार बन्नेहरूलाई नेतृत्व भनेको के हो भन्ने तालीम दिन्छौं। वडाध्यक्षमा चुनिंदा र प्रतिपक्षमा रहँदा के अपेक्षा गरिएको हुन्छ भन्नेबारे तालीम दिन्छौं। किनभने हामी सधैं सत्तामा मात्रै बस्न पाउँछौं भन्ने हुँदैन, धेरै समय प्रतिपक्षमा पनि बस्नुपर्ने हुन्छ।
प्रतिपक्षमा बस्दा हामीले त जितेनौं, अब यिनीहरूले के गर्दा रहेछन् हेरौं न भन्ने भाव राख्नु हुँदैन। त्यो त नेतृत्व स्वभाव होइन।
सिर्जनात्मक आलोचना कसरी गर्ने भन्ने सिक्न आवश्यक छ। यस्तो आलोचनाले नेतृत्वमा हुनेलाई जिम्मेवार बनाउँछ।
अर्कातर्फ, हामीले ‘मिसन ८४’ लाई पछ्याएका छौं। त्यो भनेको २०८४ सालबाट यो देशलाई हामीले हाँक्ने हो।
तर, समस्या के हो भने २०८४ सालमा हामीले जितेपछि ‘ल हामीले जित्यौं, अब के गर्ने त’ भनेर त भएन।काम गर्न पाउने पाँच वर्षमा अब के गर्ने भन्ने निर्क्योल गर्नै दुई वर्ष लाग्यो भने त भएन। त्यही भएर अबका तीन-चार वर्षमा हामीले त्यो वेला के गर्ने हो त्यसको गृहकार्य गरिरहेका छौं।
नेपाली राजनीतिको रोग नै एकले अर्काको खुट्टा तान्ने, कुनै सहमतिमा आउन नसक्ने जस्तो देखिन्छ।
पार्टीभित्रै पनि तानातान, पार्टीहरूबीच पनि तानातान छ। ५० वर्षभन्दा अघिदेखि नै यस्तो चलिरहेको छ। यसको सामना कसरी गर्ने भन्नेबारे तालीम कसरी दिनुहुन्छ?
बूढो भइसकेकालाई नयाँ कुरा सिकाउन सकिन्न भन्ने उखान नै छ। तर, हामी त बूढो भएका छैनौं। हामी सही सीप र कला जान्न चाहन्छौं। हामी सही मूल्य पनि जान्न चाहन्छौं। हामी केन्द्रीय तहमा मात्रै होइन, प्रदेश, स्थानीय तहमा पनि मूल्यमा आधारित नेतृत्व विकास गरिरहेका छौं। त्यसैले जरादेखि नै राम्रो नेतृत्व निर्माण गर्न हामी प्रयासरत छौं।
नेतृत्व भनेको आफ्ना जनताप्रति जिम्मेवार हुने हो।नेतृत्वले सेवा गर्ने हो, शासन गर्ने होइन। त्यसैले हामीले ‘राजनीति’ होइन, ‘जननीति’ भन्नुपर्छ।
अबको चार वर्षमा चुनाव हुनेछ। चुनावमा तपाईं उम्मेदवार बन्ने सम्भावना चाहिं कत्तिको छ?
राजनीतिमा तपाईंले कहिले पनि ‘हुन्न’ भन्नु हुँदैन। भोलि पार्टीले उम्मेदवार बनाउँछ भने उम्मेदवार हुनुपर्छ। ‘म हारुँला कि’ भनेर उम्मेदवार नबन्ने भन्ने कुरै हुँदैन।
सँगसँगै के पनि स्पष्ट पारूँ भने, मैले अहिलेदेखि नै काठमाडौं-१, स्याङ्जाको भीरकोट वा जनकपुर जहाँ मेरो केही आधार छ, त्यहाँ चुनाव लड्न तयारी गर्ने हो भने मैले ५० प्रतिशत समय त मेरो चुनावी क्षेत्रको विकासमै खर्च गर्नुपर्ने हुन्छ।
रास्वपामा नेतृत्व विकास गर्ने सपना यति ठूलो छ कि म राति निदाउन सक्दिनँ। झन् चुनावी क्षेत्र विकास पनि गर्ने, अनि पार्टीमा नेतृत्व विकास पनि गर्ने हो भने त म दुवै काममा फेल हुन्छु।
तपाईंका पुर्खा त भीरकोटका राजा। अब तपाईंले भीरकोटको पनि उत्थान गर्नुपर्यो नि हैन?
म गएँ भने भीरकोटको उत्थान हुन्छ भन्नेमा म विश्वस्त छु। तर, भीरकोटको मात्रै विकास गरेर नेपालको विकास हुँदैन। म त भीरकोटको उत्थान गर्ने नेतृत्व पनि विकास गरूँ, हरेक प्रदेश, हरेक वडालाई नेतृत्व गर्ने जनशक्ति उत्पादन गर्न सकूँ भन्ने यात्रामा छु।
नेपालका नेताहरूको एउटा समस्या ‘इगो’ र बढी महत्त्वाकांक्षा हो। तपाईंको तालीमले इगोलाई अघि आउन नदिने कुरा पनि सिकाउँछ?
एकदमै। म त्यसलाई ‘गड सिन्ड्रोम’ भन्छु।कोही व्यक्ति कुनै पदमा छन् भने उनीहरूले त्यो पद पाउन मेहनत गरेका छन्। तिनले एकै मिनेट पनि काम गर्न छोडे भने पछि परिहाल्छन्, चाहे जोसुकै होऊन्।यो कुरा चाहिं नेताहरूले बिर्सेका छन्। राजनीतिमा यो नियम लागू हुँदैन, चाहे त्यो सानो ट्राफिक नियम होस्। चाहे त्यो लाइनमा उभिने नियम होस्।
तपाईंको पार्टीका सभापति रवि लामिछानेमा ‘गड सिन्ड्रोम’ छ?
एउटा सन्दर्भ भनिहालौं- हाम्रो सभापतिको के कुरा मलाई राम्रो लाग्यो भने उनले म, शिशिर खनाल, स्वर्णिम वाग्ले, तोसिमा कार्की जस्तो मान्छेलाई पार्टीमा भित्र्याए। उनले ‘हैन सके मैले नै गर्ने हो, अरूले मैले भनेको मान्नुपर्छ’ भनेको भए हामी जस्तो मान्छे पक्कै पनि पार्टीमा आउने थिएनन्।
नेपाली टाइम्समा प्रकाशित यो सामग्री अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्