प्रदेश सांसद सिंहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
मधेश प्रदेश सभाका सदस्य अनिरुद्रकुमार सिंहलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत, सप्तरीले आदेश दिएको छ।
१६ वर्षअघिको हत्या मुद्दामा सोमबार जिल्ला प्रहरी कार्यालय, सप्तरीको टोलीले सिंहलाई राजविराजबाट पक्राउ गरेको थियो।
मंगलबारको थुनछेक बहसपछि सिंहलाई थुनमा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश दिइएको हो। मुल्तबी रहेको कर्तव्य ज्यान र डाँका मुद्दाका आरोपी सिंह गत प्रदेश सभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४ (ख) बाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए।
२०६४ साल असार ९ गते तत्कालीन खोक्सर प्रवाहा गाविस-१ का ३२ वर्षीय दीपु भनिने माओवादी नेता गोविन्द चौधरीको हत्या भएको थियो। मृतककी दिदी रीताकुमारी चौधरीले २०६४ असार १४ गते सिंह सहित नौ जनाको नाममा किटानी जाहेरी दिएकी थिइन्।
त्यही समयदेखि सिंह फरार सूचीमा थिए। योबीचमा उनी प्रतिनिधि सभा उम्मेदवार पनि बनेका थिए।