नेपालबाट १० हजार मेगावाट विद्युत् लैजाने समझदारीपत्र भारतद्वारा अनुमोदन
भारतले नेपालसँगको विद्युत् व्यापार सम्बन्धी समझदारीपत्र स्वीकृत गरेको छ।
नेपालबाट आगामी १० वर्षभित्र १० हजार मेगावाट विद्युत् लैजाने नेपाल र भारतबीचको समझदारीलाई भारतको संघीय मन्त्रिपरिषद्ले औपचारिक रूपमा स्वीकृत गरेको भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले जानकारी दिएका छन्।
गत जेठमा दुई देशबीच यस विषयमा सहमति भएको थियो। सामाजिक सञ्जाल एक्स (ट्वीटर) मार्फत भारतले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली खरीद गर्ने निर्णय गरेको उनले जानकारी दिएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा दुई देशबीचको दीर्घकालीन विद्युत् व्यापार सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो। नेपाल र भारतका ऊर्जा सचिवले सो समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।
भारत सरकारको यस निर्णयपछि अब दुवै देशका ऊर्जा सचिवले एक विशेष समारोह आयोजना गरी पुनः संयुक्त हस्ताक्षर गर्नेछन्।
यस्तै, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता मधुप्रसाद भेटुवालले १० वर्षमा १० हजार मेगावाट बराबरको बिजुली लैजाने सम्बन्धी विषयलाई भारत सरकारको मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी आएको बताए। “औपचारिक रूपमा जानकारी आउँदै होला, अनौपचारिक रूपमा निर्णय भएको जानकारी आएको छ,” उनले भने।
यो निर्णयसँगै अब नेपालको बिजुली भारतीय बजारमा सहज रूपमा लैजान बाटो खुलेको छ। हाल नेपाल विद्युत् प्राधिकरणले दैनिक भारतीय इनर्जी एक्सचेन्ज मार्केटमा ४५२ मेगावाट बिजुली निर्यात गर्दै आएको छ।
सन् २०१४ मै नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौता भएको थियो। भारतीय कम्पनी सतलज विद्युत् निगमले ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। यस्तै, भारतीय कम्पनी गान्धी माल्लिकार्जुन राव (जीएमआर)ले ९०० मेगावाट क्षमताकै माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण गर्ने बताए पनि हालसम्म शुरू हुन सकेको छैन।
यसैगरी, नेपालले छिटै बाङ्लादेशमा पनि ४० मेगावाट बिजुली निर्यात गर्ने तयारी गरेको छ।
यता, निजी क्षेत्रले पनि विद्युत् व्यापारको अनुमति दिन सरकारसँग माग गर्दै आएको छ। प्रस्तावित नयाँ विद्युत् विधेयकमा निजी क्षेत्रलाई बिजुली व्यापारका लागि अनुमति दिने प्रस्ताव गरिएको छ। मन्त्रिपरिषद्को यही भदौ १२ गतेको बैठकले विद्युत् विधेयकलाई संघीय संसद्मा प्रस्तुत गर्न ऊर्जा मन्त्रालयलाई अनुमति दिइसकेको छ। -रासस