वर्षाले रोकिएको खेल शुरू, भारतलाई २३ ओभरमा १४५ रनको लक्ष्य
पानी परेका कारण नेपाल र भारतबीचको खेल २३ ओभरमा झारिएको छ।
एशिया कप अन्तर्गत नेपाल र भारतबीचको खेलको दोस्रो इनिङ शुरू हुने बित्तिकै पानी परेको थियो। अहिले पानी रोकिएको छ भने डीएल पद्धतिका आधारमा ओभर घटाइएको हो।
अम्पायरले ५० ओभरको खेललाई २३ ओभरमा झारेका छन्। त्यसका आधारमा भारतलाई १४५ रनको लक्ष्य मिलेको छ। भारतले २.१ ओभरमा कुनै विकेट नगुमाएर १७ रन बनाएको छ।
यसअघि ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा २३० रन बनाएको हो। मध्यम क्रम नचल्दा लरखराएको नेपाललाई पुछारका ब्याटरले सम्मानजनक स्कोरसम्म पुर्याएका हुन्।
नेपालका लागि प्रारम्भिक ब्याटर आसिफ शेखले अर्धशतक प्रहार गरे। उनले ९७ बलमा आठ चौकाको मद्दतले ५८ रन प्रहार गरे।
त्यस्तै, नेपालका लागि सोमपाल कामीले ४८ रन बनाए। उनले ५६ बलमा एक चौका र दुई छक्का प्रहार गरे।
त्यस्तै, कुशल भुर्तेलले ३८, गुल्सन झाले २३, सन्दीप लामिछानेले नौ, भीम सार्कीले सात, रोहित पौडेलले पाँच, कुशल मल्ल र करण केसीले दुई–दुई रन बनाए।
भारतका लागि मोहम्मद सिरज र रवीन्द्र जडेजाले तीन–तीन, मोहम्मद शमी, हार्दिक पाण्ड्या र शार्दूल ठाकुरले एक–एक विकेट लिए।