नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य
एशिया कपमा नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ।
श्रीलंकाको पालेकेले क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा २३० रन बनाएको हो। मध्यम क्रम नचल्दा लरखराएको नेपाललाई पुछारका ब्याटरले सम्मानजनक स्कोरसम्म पुर्याएका हुन्।
नेपालका लागि प्रारम्भिक ब्याटर आसिफ शेखले अर्धशतक प्रहार गरे। उनले ९७ बलमा आठ चौकाको मद्दतले ५८ रन प्रहार गरे।
त्यस्तै, नेपालका लागि सोमपाल कामीले ४८ रन बनाए। उनले ५६ बलमा एक चौका र दुई छक्का प्रहार गरे।
त्यस्तै, कुशल भुर्तेलले ३८, गुल्सन झाले २३, सन्दीप लामिछानेले नौ, भीम सार्कीले सात, रोहित पौडेलले पाँच, कुशल मल्ल र करण केसीले दुई–दुई रन बनाए।
भारतका लागि मोहम्मद सिरज र रवीन्द्र जडेजाले तीन–तीन, मोहम्मद शमी, हार्दिक पाण्ड्या र शार्दूल ठाकुरले एक–एक विकेट लिए।
अहिले पानी परिरहेको छ। जसले गर्दा खेल रोकिएको छ।