बाङ्लादेशका नोबल पुरस्कार विजेता युनुसका पक्षमा विश्वका नेता र नोबल विजेताको आह्वान
विश्वका १७० भन्दा बढी नेता र नोबल पुरस्कार विजेताले मोहम्मद युनुस विरुद्ध चलिरहेको मुद्दा स्थगित गर्न बाङ्लादेशकी प्रधानमन्त्री शेख हसिनासँग अनुरोध गरेका छन्।
लघुवित्त मार्फत गरीब जनताको उन्नतिका लागि काम गरेकै कारण युनुसले सन् २००६ मा नोबल पुरस्कार पाएका थिए। पछिल्ला केही सातायता युनुस विरुद्ध दायर भएका मुद्दालाई लिएर उनको पक्षमा आवाज उठेको हो।
प्रधानमन्त्री हसिनालाई सम्बोधन गरिएको खुला पत्रमा अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा, संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव वान की मुन र १०० भन्दा बढी नोबल पुरस्कार विजेताले बाङ्लादेशमा पछिल्लो पटक लोकतन्त्र र मानव अधिकारमाथि खतरा सिर्जना भएकोमा गम्भीर चासो व्यक्त गरेका छन्।
“मानव अधिकारमाथि सिर्जना भइरहेका खतरामध्ये चासो जनाउनुपर्ने वर्तमान कारण नोबल शान्ति पुरस्कार विजेता प्राध्यापक मोहम्मद युनुसमाथिको मुद्दा हो। पछिल्लो पटक उनलाई निशाना बनाइएकोमा हामी सचेत भएका छौं, जसलाई हामी निरन्तर कानूनी दुर्व्यवहार ठान्छौं,” खुला पत्रमा भनिएको छ।
भदौ १२ मा जारी गरिएको खुलापत्रमा भनिएको छ, “युनुसमाथि चलाइएको भ्रष्टाचार विरोधी र श्रम कानूनसँग सम्बन्धित मुद्दामा उनी निर्दोष सावित हुनेछन् भन्नेमा हामी विश्वस्त छौं।”
बाङ्लादेशकी प्रधानमन्त्री हसिनाले पत्रको जवाफ दिंदै अन्तर्राष्ट्रिय विज्ञ र अधिवक्ताहरूलाई बाङ्लादेश आउन निमन्त्रणा गरेकी छन्। युनुस विरुद्ध लगाइएका आरोप सम्बन्धी सबै दस्तावेजको परीक्षण गर्न र कानूनी प्रक्रियामा पहुँच दिन आफूले सघाउने उनले बताएकी छन्।
“विज्ञ र वकीलहरू आउँछन् भने अहिलेसम्म नछोइएका धेरै विषय बाहिर आउनेछन्। त्यस्ता अरू थुप्रै विषय बाहिर आउनेछन्,” हसिनाको दाबी छ।
सन् १९८३ मा युनुसले ‘ग्रामीण ब्यांक’ स्थापना गरेका थिए, जसले सामान्यतः ब्यांकबाट ऋण नपाउने उद्यमीलाई कम धनराशिको ऋण दिन्थ्यो। ब्यांकले थुप्रै मानिसलाई गरीबीबाट माथि उठ्न सघायो। उक्त अभ्यासलाई अन्य देशले पनि पछ्याए।
सन् २००८ मा सत्तामा आएदेखि नै हसिना सरकारले युनुसमाथि छानबिन शुरू गरेको थियो। खासगरी सन् २००७ मा युनुसले राजनीतिक दल गठन गर्ने घोषणा गरेपछि उनी क्रुद्ध भएकी थिइन्। त्यति वेला सेना समर्थित सरकार थियो र हसिना जेलमा थिइन्। यद्यपि, युनुसले घोषणा गरे जस्तो राजनीतिक दल स्थापना गरेनन्।
युनुसले नेताहरूको रुचि पैसामा मात्रै भएको भन्दै आलोचना गरेका थिए। हसिनाले भने ग्रामीण ब्यांंकको प्रमुखका रूपमा उनले गाउँका गरीब महिलाबाट पैसा उठाउन बल र अन्य माध्यम प्रयोग गरेको भन्दै ‘रगतचुसाहा’ को संज्ञा दिएकी थिइन्।
हसिना नेतृत्वको सरकारले सन् २०११ मा ग्रामीण ब्यांकको कामकारबाहीको समीक्षा गर्न थालेको थियो। सरकारको सेवानिवृत्ति सम्बन्धी नियमहरू उल्लंघन गरेको भन्दै युनुसलाई प्रबन्ध निर्देशक पदबाट हटाइएको पनि थियो। सन् २०१३ मा उनलाई सरकारको अनुमति विना पैसा लिएको आरोपमा मुद्दा पनि चलाइएको थियो, जसमा नोबल पुरस्कार र उनको पुस्तकको रोयल्टीको विषय पनि उठाइएको थियो।
पछि उनले स्थापना गरेका अन्य कम्पनीका विषय लिएर उनलाई अन्य मुद्दा पनि लगाइयो, जस अन्तर्गत ग्रामीण टेलिकमको विषय पनि थियो। ग्रामीण टेलिकम बाङ्लादेशको सबैभन्दा ठूलो मोबाइल फोन कम्पनी ‘ग्रामीण फोन’ को अङ्ग हो, जुन आफैंमा नर्वेली टेलिकम कम्पनी टेलेनरको शाखा हो।
अगस्टको शुरूतिर ग्रामीण टेलिकमका १८ जना पूर्व कर्मचारीले काम गरे बापत पाउनुपर्ने सेवासुविधाबाट वञ्चित गरेको आरोप लगाउँदै उनी विरुद्ध मुद्दा दायर गरेका थिए। युनुसका वकीलहरूले यो मुद्दालाई उत्पीडनको संज्ञा दिंदै प्रतिरक्षा गर्ने वाचा गरेका छन्।
त्यस्तै, गत २२ अगस्ट (भदौ ४)मा युनुस श्रम कानून उल्लंघन गरेको मुद्दामा बयान दिन पुगेका थिए।
आफ्नो खुला पत्रमा विश्वप्रसिद्ध व्यक्तिले आउँदो जनवरीमा हुने भनिएको बाङ्लादेशको निर्वाचन विश्वसनीय होस् भन्ने माग गरेका छन्। प्रधानमन्त्री हसिनाले निर्वाचन स्वतन्त्र र निष्पक्ष हुने दाबी गरेकी छन्।
पूर्व प्रधानमन्त्री खलिदा जिया नेतृत्वको प्रमुख प्रतिपक्षी ‘बाङ्लादेश न्याशनालिस्ट पार्टी’ ले भने निर्वाचन धाँधलीपूर्ण हुने आरोप लगाउँदै हसिनाले चुनावी सरकारलाई सत्ता हस्तान्तरण नगरे निर्वाचन बहिष्कार गर्ने धम्की दिएको छ। हसिनाले भने उक्त माग अस्वीकार गरेकी छन्।