कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा
आईसीसी महिला टी-२० विश्वकप एशिया क्षेत्र छनोटमा कतारलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।
मलेशियाको बांगीमा सोमबार बिहान भएको खेलमा नेपालले कतारलाई नौ विकेटले पराजित गरेको हो। नेपालको यो लगातार चौथो जित हो। यसअघि नेपालले घरेलु टोली मलेशियालाई पाँच रन, बहराइनलाई १० विकेट र भूटानलाई तीन विकेटले पराजित गरेको थियो।
समूह ‘ए’ बाट नेपालले एक खेलअगावै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ। जितका लागि ७५ रनको सामान्य विजयी लक्ष्य पछाएको नेपालले १०.३ ओभरमा एक विकेट गुमाउँदै पूरा गरेको हो।
नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२ रन बनाइन्। उनले २८ बलमा चार चौका सहित ३२ रन जोडिन्। त्यस्तै, इन्दु बर्मा २० र सीता राना मगरले १७ रन बनाए।
यसअघि ब्याटिङ गरेको कतारले सात विकेट गुमाउँदै ७४ रन बनाएको थियो। कतारकी साची धडवालले २१ रन बनाइन्। त्यस्तै, एलिना खानले १५, एन्जिली मारेले १४ र आयशाले १० रन बनाए।
नेपालका लागि इन्दु बर्माले तीन, पूजा महतो र कविता जोशीले एक-एक विकेट लिए। नेपालले समूह चरणको अन्तिम खेल बुधबार यूएईसँग खेल्नेछ।