कहाँ हराए मौलिक परिकार?
चिनियाँ परिकारले नेपालका रैथाने परिकारलाई विस्थापित गर्दै लगेको छ भने काठमाडौं लगायत देशका मुख्य शहरमा चिनियाँ भोजन पाइने होटल तथा रेस्टुराँको संख्या वृद्धिले पनि यसमा भूमिका खेलेको छ।
पहिले गाउँमा नास्ताका रूपमा भुटेको मकै र गुन्द्रुकको अचार, जाँड, केराउको तरकारी, आलु, उसिनेको मकै, मकैको पीठोको रोटी, गहुँको रोटी, फापरको रोटी, चाम्रे, चिउरा तरकारी, दही, कोदोको रोटी, मकैको पीठोको चाम्रे, जाउलो जस्ता गाउँघरमै उत्पादन हुने परिकारहरू हुन्थे। तर, अहिले गाउँले स्वाद फेरेको छ।
ग्रामीण परिकारप्रति अचेल त्यति आकर्षण पनि देखिएको छैन। आकर्षण कम हुनुले यी परिकार हराउँदै जान थालेका छन्। नास्ताका रूपमा पहिलो रोजाइ चाउचाउ, चाउमिन, चिसो नै हुने गरेका छन्। चिसो अर्थात्- माउन्टेन ड्यु, पेप्सी, कोकाकोला।
पंक्तिकारको कृषि फार्ममा खटिएका कृषि मजदूरहरू पनि चिसोको व्यवस्था नगर्दा बेस्सरी रिसाउने गर्थे। आखिर किन यस्तो भयो? एकै दिनमा यस्तो भएको पक्कै होइन।
विकासको अवधारणा र पश्चिमी ज्ञान
नेपालमा सबैभन्दा बढी आयात गरिएको विषय नै विकास हो। अर्को अर्थमा विकासका अवधारणा। योसँगै जोडिएर आउँछ पश्चिमी ज्ञान र पश्चिमी बजारिया सामान।
विकासको नाममा पश्चिमा ज्ञान र अवधारणाले हाम्रो मनमस्तिष्क सबै औपनिवेशीकरण गर्दै लगिरहेको छ। हामी हाम्रो ज्ञान परम्पराबाट च्युत हुँदै छौं। भूमिको औपनिवेशीकरण युग समाप्त भए पनि ज्ञानको औपनिवेशीकरण तीव्र र सशक्त छ।
हाम्रा खाद्य सम्बन्धी ज्ञानलाई अहिलेको विज्ञान र प्रविधिको आलोकमा नयाँ परीक्षण नै नगरी द्रुत गतिमा छाड्दै जाने चलन बढेको छ। हाम्रा पुर्खाले प्रयोग गर्ने खाद्य प्रविधि, त्यो सम्बन्धी उनीहरूका ज्ञान र व्यावहारिक सुझबुझलाई कुनै स्थान नै नदिने अभियानलाई अन्धसमर्थन र प्रयोग गर्न कतै हिचकिचाइएको छैन। हाम्रा पुर्खाले प्रयोग गर्दै आएका खाद्य सामग्री स्वास्थ्यका दृष्टिले कति लाभदायी वा हानिकारक छन् भन्ने लेखाजोखा र वैज्ञानिक परीक्षण नै नगरी फटाफट यसलाई तिलाञ्जली दिन हामी उद्यत छौं।
हाम्रा राजनीतिक दल, तीन तहका सरकार, विद्यालय र विश्वविद्यालय, कृषि, जीवनशैली, लवाइखवाइ, सोच्ने तौरतरीका सबैमा पश्चिमी बजारु विकासको गहिरो छाप पर्दै गएको छ। हाम्रा वास्तुकला, कृषिज्ञान, संस्कृति र जीवन तथा समाज सञ्चालन गर्न अपनाइने सबै प्रक्रियाहरूमा पश्चिमा विकास अवधारणाले हामीलाई किनारतिर लैजाँदै छ। हाम्रो समाजले सबै कुरा बाहिरबाट ल्याएर दैनन्दिनका आवश्यकता पूरा गर्न खोजेको छ। हजारौं वर्षदेखि प्रचलनमा रहेका जीवन सञ्चालनका आवश्यक सबै ज्ञान-सीप बिर्संदै र लत्याउँदै जान थालेको छ।
थमस ब्याबिङ्टन मकलीले शिक्षा मार्फत औपनिवेशीकरण गर्ने जुन अभियान चलाए त्यसको प्रत्यक्ष प्रभाव अहिले हामीमा छ। उनले ल्याएको सन् १८३२ को शिक्षा नीतिले आफ्नो उपनिवेशवादलाई टिकाउने र त्यसलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने ध्येय राखेको थियो। उनको शिक्षा नीतिले भारतका विद्यालयमा अरेबिक, संस्कृत र फारसी भाषामा नभई अंग्रेजीमै पढाउने नीति लियो।
दोहोरो विश्वव्यापीकरणको खाँचो
अमेरिका नियन्त्रित विश्वव्यापीकरण नेपाली समाजमा निर्बाध प्रवेश गरेको धेरै भइसक्यो। विश्वव्यापीकरणका नाममा पश्चिमी जगत्बाट हाम्रो समाजमा सबै कुराले खुला प्रवेश पाउनुले हामीसँग छान्ने (फिल्टर गर्ने) क्षमतामा व्यापक ह्रास आएको देखिन्छ। यसले गर्दा सकारात्मक र नकारात्मक दुवै कुरा हामीकहाँ सजिलै पसे।
अहिलेसम्म चल्दै आएको विश्वव्यापीकरणले हामीलाई केवल उपभोक्ता बनायो। हामी अरूको ज्ञान, सीप, संस्कृति, खाद्य पदार्थ, विकासका उपभोक्ता मात्र भयौं। यो विश्वव्यापीकरणको मूल चरित्र के हो भने हामीकहाँ उनीहरूका सबै चिजले निर्बाध प्रवेश पाउने र हाम्रो कुनै पनि चिजले उता छिर्न नपाउने। यस्तो एकोहोरो विश्वव्यापीकरणले हामीलाई भित्रैदेखि खोक्रो बनाएको छ।
विश्वव्यापीकरणको कुरा गर्दा यो (दूषित) हावा केवल पश्चिमबाट मात्रै चलेको होइन। अहिले नेपाली समाजलाई पश्चिमा, भारतीय र चिनियाँ उत्पादनले त्रिकोणबाट औपनिवेशीकरणको चक्रमा फसाएको छ। हाम्रो ज्ञानसत्ता यी त्रिपक्षीय औपनिवेशिक नङ्ग्राबाट कमजोर हुँदै गएको छ।
नेपाली समाजका मूल विशेषता उखेल्न भारतीय परिकारको पनि उत्तिकै भूमिका छ। नेपाली आदिवासित्व नै हाम्रो मूल विशेषता हो। नेपालका आदिवासी परिकारहरू विस्थापित हुँदै छन्।
मानवशास्त्री डोरबहादुर विष्टले भाग्यवाद र विकास पुस्तकमा भारतीय अनुकरणको समस्या विकराल बन्दै गएको रहस्योद्घाटन गरिसकेका छन्। विष्टले नेपाली संस्कृतिमा भारतीय हाबी हुँदै गएको विषय उठाएका थिए। खानपिन, परिकार र खाने शैली पनि संस्कृतिकै अभिन्न पाटा त हुन्।
हाम्रोमा पश्चिमाकरणभन्दा भारतीय संस्कृतिको प्रभाव गहिरो हुन्छ। नेपाली समाजको मूल चरित्रलाई विस्थापित गराउन यो सजिलो हतियार हो। भारतसँग हाम्रो संस्कृति मिल्छ भन्दैमा आँखा चिम्लिनु उचित हुनै सक्दैन।
त्यस्तै, तिब्बती र चिनियाँ संस्कृति पनि हाम्रा लागि नयाँ चुनौती बन्न थालेको छ। यो झनै बोझिलो हुने देखिन्छ। अहिले हाम्रो दैनिक जीवनलाई चिनियाँ संस्कृतिले मिहिन तरीकाले प्रभाव पार्दै छ। हामीले थाहै नपाई, ‘स्लो पोइजनिङ’ जस्तै बढेको छ।
हाम्रा खानपान, पहिरनमा त तिब्बती प्रभाव प्रस्टै देखिन थालेको छ। संस्कृतिविद् अमृत योन्जनका अनुसार अन्तर्राष्ट्रिय तामाङ परिषद्को चौथो सम्मेलनमा तामाङ महिलाहरूले तिब्बती पोशाक नक्कल गरी पहिरिएका थिए।
त्यस्तै, चिनियाँ परिकारले हाम्रा रैथाने परिकारलाई विस्थापित गर्दै लगेको प्रस्ट देखिन्छ। म:म, चाउमिन, हटपट, तोफु जस्ता चिनियाँ परिकारले जबर्जस्त आफ्नो स्थान नेपाली भान्सा र जिब्रोमा बनाइसकेका छन्। काठमाडौं लगायत देशका थुप्रै शहरमा चिनियाँ होटल तथा रेस्टुराँको संख्या उल्लेख्य वृद्धि हुनुबाट पनि नेपालमा चिनियाँ परिकारको विस्तारको अनुमान लगाउन सकिन्छ। भविष्यमा यो संख्या अझै बढ्नेमा कुनै आशङ्का छैन।
तथापि, चिन्ता चिनियाँ होटल र रेस्टुराँको संख्या बढ्नुमा भन्दा हाम्रा रैथाने परिकार र स्वादहरू हराउँदै जानुमा हो।
विश्वव्यापीकरणले लगाउने मूल नारा विश्वग्राम (ग्लोबल भिलेज)को हो। हामीसँग अस्तित्वमा रहेका रैथाने ग्रामको आत्मा, चरित्र र विशेषता मार्ने विश्वग्रामको हामीलाई के खाँचो? के हामीले विश्वका गुणहरू उपलब्ध हुने तर स्थानीय, रैथाने विशेषताहरू नामेट भएको विश्वग्राम बनाउन चाहेका हौं?
विश्वव्यापीकरणका नाममा बनेका एकोहोरो राजमार्गलाई दोहोरो बनाउन हामीले किन चिन्तन नगर्ने? किन प्रयत्न नगर्ने?
यसै सन्दर्भमा प्राध्यापक महेन्द्र पी. लामा लेख्छन्, “हाम्रोमा पनि त छ, जो यिनीहरू कसैसँग छैन। हाम्रो संस्कृति, ज्ञान, पद्धति, प्रकृति... यसरी स्थानीय हाम्रालाई कसरी विश्वव्यापी अरूहरूका लागि बनाउनु? यसलाई ‘ग्लोबलाइजेशन अफ लोकल्स’ भन्नैपर्छ। यो ठीक उल्टा अहिले हामीले भागेको ‘लोकलाइजेशन अफ ग्लोबल्स’ को यातना र आघात।”(ओ दार्जीलिङ! सीमा वारिपारिका परिवेश र मन्थन)
उनको प्रस्तावना के हो भने विश्वलाई हाम्रा स्थानीय, रैथाने के हो बताउनुपर्छ। हामीसँग भएका गाउँघरका ज्ञान-परम्परालाई विश्वव्यापीकरण गर्नुपर्छ। अहिलेसम्म चल्दै आएको एकोहोरो विश्वव्यापीकरणलाई दोहोरो बनाउन हामी लाग्नैपर्ने हुन्छ।
त्यसका लागि हामीसँग के के छन्? ती पहिचान गर्न, जोगाउन र विश्वलाई बताउन हामीले पहल लिनैपर्ने हुन्छ।
पहिले गाउँहरूले शहरहरू पाल्थे। शहरलाई आवश्यक वस्तु सबै गाउँबाटै आपूर्ति गरिन्थ्यो। अहिले समाज विपरीत दिशातर्फ गएको छ। अहिले गाउँलाई शहरले पाल्न थालेको छ। गाउँमा अचेल शहरबाटै चामल जान्छन्। चिसो तथा मदिरा जान्छन्। गाउँबाट युवा पलायन हुँदै जाँदा जमीन बाँझो हुँदै गएको छ।
राज्यले युवालाई विदेशमा पठायो, युवाले विप्रेषण गाउँमा पठाउन थाले। उता शहरले गाउँलाई आवश्यक सामग्री ढुवानी गर्न थाल्यो।
गत जेठमा दोलखाको शैलुङ गाउँमा पुग्दा पंक्तिकारले त्यहाँ शहरबाट आउने गाडीले दूध ल्याएको देखेको थियो। शहरबाट मूल्यमान्यता, संस्कृति पनि गाउँमा आपूर्ति गर्न थालिएको छ।
गाउँमा कस्तो घर बनाउने? कस्तो सडक बनाउने? खेती कसरी गर्ने लगायत वास्तुकला, इन्जिनीयरिङको सीप र कृषिज्ञान पनि शहरले पठाउने गरेको छ।
काठमाडौंले विश्वव्यापीकरणको नाममा बाहिरी विश्वबाट विकास नामका थुप्रै जिनिस आयात गर्छ र गाउँतिर ढुवानी गर्छ। त्यसैकारण अचेल गाउँघरमा रैथाने परिकार, पेयपदार्थ हराउँदै जान थालेका हुन्। परिकारका दृष्टिमा हाम्रा गाउँघरले अब मौलिकता गुमाउन थालेका छन्। शहरबाट जाने बजारिया परिकारले गाउँहरू आक्रान्त हुँदै छन्।