नेपाल र भारतबीचको बहुप्रतीक्षित खेल आज, वर्षा बाधक बन्न सक्ने
एशिया कपमा आज नेपालले भारतको सामना गर्दै छ।
नेपाली समर्थकका लागि बहुप्रतीक्षित यो खेल दिउँसो ३:१५ बाट शुरू हुनेछ।
भारत अहिले एकदिवसीय वरीयतामा तेस्रो स्थानमा छ। नेपाल १५औं स्थानमा छ। भारतको सिनियर टीम विरुद्ध पहिलो पटक भिड्न लागेको नेपालका लागि यो प्रतियोगिताको ‘सुपर फोर’ मा पुग्न आजको खेल जित्नैपर्ने हुन्छ। हार वा अङ्क बाँडफाँडले भारतलाई सुपर फोरमा पुर्याउँछ।
अङ्कतालिकामा अहिले समूह ‘ए’ मा तीन अङ्क सहित पाकिस्तान शीर्षस्थानमा छ भने भारत एक अङ्क सहित दोस्रो स्थानमा छ। नेपाल अङ्कविहीन छ।
यद्यपि, आजको खेल अवरुद्ध हुने सम्भावना पनि उत्तिकै छ। ईएसपीएन क्रिक इन्फोका अनुसार आजको खेलमा ८० प्रतिशतसम्म वर्षाको सम्भावना छ। वर्षाका कारण खेल रद्द भएमा अङ्क बाँडफाँड हुन्छ र दुई अङ्क सहित भारत सुपर फोरमा पुग्नेछ।
तर, नेपाललाई सबैभन्दा ठूलो घाटा भने भारत जस्तो टोली विरुद्ध परीक्षित हुने अवसरबाट वञ्चित हुनु हो। ‘अनुभवका लागि प्रतिस्पर्धात्मक मानसिकताका साथ भिड्ने’ नेपालको उद्देश्य वर्षाकै कारण पूरा नहुने सम्भावना छ।
नेपाल कप्तान रोहित पौडेलको नेतृत्वमा मैदानमा उत्रनेछ। भारतको नेतृत्व कप्तान रोहित शर्माले गर्नेछन्। प्लेइङ-११ हाल सार्वजनिक नभए पनि नेपालले पाकिस्तान विरुद्धकै खेलाडीहरू उतार्ने सम्भावना छ भने भारतले जसप्रित बुमराहको स्थानमा मोहम्मद शामीलाई उतार्ने बताइएको छ। बुमराह व्यक्तिगत कारणले मुम्बई फर्किएका छन्।
यसअघि नेपालले एकदिवसीय क्रिकेटमा शीर्ष वरीयतामा रहेको टोली पाकिस्तानको सामना गरेको थियो। पाकिस्तान विरुद्ध नेपाल २३८ रनले पराजित भएको थियो।
एशिया कपमा ६ टोली प्रतिस्पर्धा गर्दै छन्। पाकिस्तान, नेपाल र भारत समूह ‘ए’ मा छन्। त्यस्तै, समूह ‘बी’ मा श्रीलंका, बाङ्लादेश र अफगानिस्तान छन्।