एमाले लुम्बिनीको अध्यक्षमा हरि रिजाल र राधाकृष्ण कँडेलको उम्मेदवारी
नेकपा (एमाले) लुम्बिनी प्रदेश अध्यक्षका लागि हरि रिजाल र राधाकृष्ण कँडेलले उम्मेदवारी दिएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमति गर्न निर्देशन दिएका थिए। अध्यक्ष ओलीको निर्देशन अनुसार एमाले नेताहरूले आइतबार दिनभर सहमतिको प्रयास गरेका थिए।
दुवै जना पछि नहटेपछि निर्वाचन प्रक्रिया थालिएको हो। आइतबार साँझ रिजाल र कँडेलले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन्।
कँडेलले एक पटक पुनः अध्यक्षका लागि उम्मेदवारी दिएको बताए। उनको प्रस्तावकमा राजुप्रसाद श्रेष्ठ र समर्थकमा भोजराज पोखरेल छन्।
त्यस्तै, रिजालको प्रस्तावकमा विजयविराट विष्ट र समर्थकमा बालासिंह काउछा रहेको प्रमुख निर्वाचन आयुक्त हरि भण्डारीले बताए। आइतबार राति ८ बजेदेखि निर्वाचन प्रक्रियाको काम स्थगित गरी सोमबार बिहान १० बजेसम्म मनोनयनको समय थप गरिएको भण्डारीले बताए।
केन्द्रीय सदस्य समेत रहेका रिजाल महासचिव शंकर पोखरेल निकट हुन् भने प्रदेश अध्यक्ष रहेका कँडेल उपाध्यक्ष विष्णुप्रसाद पौडेल निकट हुन्।
अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव सहित २०५ सदस्यीय प्रदेश कमिटी चयन हुनेछ।