हेलो सरकार २४सै घण्टा सञ्चालन हुने
सिंहदरबारमा सञ्चालनमा रहेको ‘हेलो सरकार’ सेवा अबदेखि २४सै घण्टा सञ्चालन हुने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार यसको शुभारम्भ गरेका छन्। दैनिक तीन सत्रमा विस्तार गरेर २४सै घण्टा सञ्चालन हुने व्यवस्था गरिएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हेलो सरकार कक्षको निरीक्षण र अनुगमन गर्दै प्रधानमन्त्री दाहालले तीन शिफ्टको कार्यक्रमको शुरूआत गरेका हुन्। यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकामा विस्तारित कार्यक्रममा आजबाट एनसेलको नेटवर्कबाट समेत गुनासो राख्न सकिनेछ।
गुनासाहरू फोन, इमेल, फेसबूक, ट्वीटर, पोर्टल, भाइबर, ह्वाट्सएप लगायत डिजिटल माध्यमबाट टिपाउन सकिनेछ। हेलो सरकारको डेस्कले प्राप्त गुनासालाई तत्काल सम्बोधन गरी सोको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ।
हेलो सरकार २४सै घण्टा सञ्चालनका लागि तीन शिफ्टको कार्यतालिका निर्माण गरी सोही अनुरूप कर्मचारी व्यवस्थापन समेत गरिएको छ। त्यसका लागि नेपाल सरकारका तीन जना उपसचिव सहित २५ जना कर्मचारीलाई खटाइएको छ।
हेलो सरकारमा आएका गुनासाको प्रकृति हेरी सम्बन्धित निकायमा पठाई समस्या समाधानमा सहजीकरण समेत गर्ने व्यवस्था मिलाइएको छ। साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित गुनासा सीधै सम्बोधन पनि हुनेछन्।
गुनासा सम्बोधनका निम्ति ‘र्यापिड रेस्पोन्स टीम’ समेत गठन गरी कार्यान्वयनमा ल्याइएको मुख्यसचिव वैकुण्ठ अर्यालले बताए। टीमले सम्बन्धित निकायमा पठाएका गुनासा कार्यान्वयन भए वा नभएको अनुगमन गर्नुका साथै गुनासो सम्बोधनका लागि पहल गर्नेछ।