पूर्व मन्त्री जोशीको बिगो ६३ करोडबाट एक करोडमा झारियो
ललिता निवासको सरकारी जग्गा कीर्ते गरेर हिनामिना गरेको आरोप लागेका पूर्व मन्त्री चन्द्रदेव जोशीको बिगो संशोधन गर्न जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंले अदालतमा निवेदन दिएको छ।
भदौ १० गते दायर भएको अभियोगपत्रमा पूर्व भूमिसुधार तथा व्यवस्था मन्त्री जोशी विरुद्ध ६३ करोड १० लाख रुपैयाँ बिगो माग गरिएको थियो। त्यसको पाँच दिनपछि सरकारी वकीलको कार्यालयले गल्ती भएको भन्दै एक करोड आठ लाख ७९ हजार ८१० रुपैयाँ मात्र बिगो कायम गर्न जिल्ला अदालत, काठमाडौंमा निवेदन दिएको हो।
जोशी बाबुराम भट्टराई नेतृत्वको सरकारमा २०६९ जेठ ३ गतेदेखि २०६९ असोज २ गतेसम्म मन्त्री बनेका थिए। २०६९ असोज १८ गते भट्टराई सरकारले टिकिन्छा गुठीका नाममा जग्गा दर्ताका लागि स्वीकृति दिएको थियो। यो निर्णयमा जोशी सामेल भएको भन्दै मुद्दा दायर गरिएको हो।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचारको अभियोगमा पनि जाेशीलाई प्रतिवादी बनाइएको थियो। विशेष अदालतले जोशीलाई सामान्य तारेखमा छोडिदिएको थियो। अख्तियारले दायर गरेको मुद्दा विचाराधीन छ।
ललिता निवासको सरकारी जग्गा हिनामिनामा ३१० जना विरुद्ध मुद्दा दायर गरिएको छ। उनीहरू विरुद्ध कीर्ते कसूरमा मुद्दा दायर गरिएको हो।