काठमाडौंमा किन मरिरहेका छन् काग?
प्रतिरोध शक्ति अत्यधिक भएका काग कालगतिले मरेका हुन् कि कुनै सङ्कटको सङ्केत हो?
काठमाडौंको मध्यबानेश्वरमा केही दिनअघि एउटा काग मरेको अवस्थामा भेटियो। त्यसको केही दिनपछि मीनभवन नजिकैको ठूलो खरिबोट इलाकामा अर्को काग मरेर सडकमा उत्तानो परेको देखियो।
यो क्रम रोकिएको छैन। ललितपुरको चाकुपाटमा पनि काग मरेका भेटिए। भदौ १७ मा मात्रै मरेको काग सडक किनारमा देखियो। केही दिनयता काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मरेका काग देखिइरहेका छन्।
अहिले कागले कोरलेका बचेरा एक्लै उड्न सक्ने भइसकेका छन्। तर, राम्रोसँग उड्न नजानेको बचेरा कहिलेकाहीं गुँड छोड्दा खसेर मर्ने गरेका छन्। कहिलेकाहीं करेन्ट लागेर त कहिले चट्याङ पर्दा पनि काग मर्छन्। तर, केही दिनयता काठमाडौंका विभिन्न स्थानमा काग मरेको पाइएको हुँदा यो कुनै ‘पन्छी सङ्कट’ त होइन भन्ने प्रश्न उठेको छ।
किन काग मरिरहेका छन् भन्ने विषयमा सरोकारवाला निकाय अनभिज्ञ छ। पन्छीविद्हरू यसरी काग मर्नु भवितव्य मात्र हो कि केही विशेष कारण छ भन्ने खोज्नुपर्ने बताउँछन्।
वर्षा याममा काग मर्ने कारण बिजुलीको तारको करेन्ट हुन सक्ने अनुमान पन्छीविद् तुलसी सुवेदीको छ। काग उच्च प्रतिरोध क्षमता भएको पन्छी भएकाले यसको मर्ने दर अरू पन्छीको भन्दा कम हुने सुवेदी सुनाउँछन्। “यो जे पनि खाने र जस्तोसुकै भूगोलमा पनि बस्न सक्ने प्राणी हो,” उनी भन्छन्, “यदि कुनै रोग लागेर मरेको हो भने त त्यसका लागि पोस्टमार्टम लगायतको अध्ययन नै गर्नुपर्छ।”
एकै ठाउँमा मरेको छ कि भिन्नाभिन्नै ठाउँमा मरेको छ त्यसले पनि मृत्युको कारण निर्क्योल गर्ने आधार दिने विज्ञ बताउँछन्। अचेल शहरबजारमा मुसा मार्न विष हाल्ने चलन छ। विष खाएर मरेको मुसा खाएका काग पनि विषको प्रभावले मरेको हुन सक्ने प्राध्यापक करन शाह बताउँछन्। शाह थप्छन्, “अचेल विष हालेर मारिएका मुसा खाएर काग, लाटोकोसेरो, हुचिलहरू मर्ने गरेका छन्।”
दुई वर्षअघि परासीमा एउटा विष हालिएको कुकुरको सिनो खाएका ७१ वटा गिद्ध ठाउँका ठाउँ मरेका थिए। यदि एकै ठाउँमा धेरै काग मरेका हुन् भने कतै विष भएको मुसा खाएका हुन् कि भन्ने शङ्का हुन्छ। भिन्नाभिन्नै ठाउँमा मरेका काग पनि कतै विषले मरेका मुसा खाएका हुन् कि भन्ने पत्ता लगाउन प्रयोगशाला अध्ययन गर्नुपर्ने प्राध्यापक शाह सुझाउँछन्।
“कुनै रोग सल्केको हो कि भन्नेमा पनि सचेत हुनुपर्छ। विगतमा काग तथा परेवाबाटै बर्ड फ्लू सल्केको हुँदा कुनै रोग विशेषका कारण मरेका हुन् कि भन्ने निर्क्योल गर्नुपर्छ,” उनी भन्छन्।
नेपालमा घर काग, कालो काग (वन काग), टेमु, टुंगा र राजा काग गरी पाँच प्रजातिका काग पाइने चराविद् कृष्णप्रसाद भुसाल बताउँछन्। समूहमा बस्ने कागले आफ्नो क्षेत्र निर्धारण गरेर गुँड बनाउने र त्यसको वरपर मानिस वा अन्य शत्रु जीव जाँदा रिसाउने, ठुङ्ने, ठूलो ठूलो स्वरमा कराएर आफ्ना आफन्तलाई बोलाएर त्यहाँबाट धपाउने गर्छ।
अन्य चरा प्रजातिको संख्या घट्दै गए पनि कागको संख्या भने बढ्दै गएको छ। केही अघि भएको चरा गणनामा काठमाडौंमा पनि कागको संख्या बढेको पाइएको थियो। चतुर पन्छीका रूपमा लिइने कागका बुद्धिमत्तापूर्ण र चतुर्याइँका कहावत समाजका लोककथाहरूमा प्रचलित छ।
कागलाई मिचाहा पन्छीका रूपमा पनि वर्णन गरिन्छ। यसले अन्य चरालाई सताउने, तर्साउने र आक्रमण समेत गरी त्यस्ता कति चरालाई आफ्नो क्षेत्रबाट विस्थापित गरिदिन्छ। कागले विभिन्न फोहोर खाएर वातावरण सफा राख्न मद्दत गर्छ भने जङ्गली जनावर आउँदा कराएर सुरक्षित रहन सचेत पनि गराउने भुसाल बताउँछन्।
काठमाडौंमा कागको संख्या अत्यधिक रहेको र अन्य धेरै संवेदनशील चरामा पनि अनुसन्धानको काम बढाउनुपर्ने भएकाले कागमै मात्र केन्द्रित भएर धेरै अनुसन्धान गर्न नसकिएको नेपाल पन्छी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत मोहनविक्रम श्रेष्ठ बताउँछन्। अहिलेसम्म धेरै काग मरेको भन्ने समाचार प्राप्त नभएको र फाट्टफुट्ट कुनै कारणले काग मरेको हुन सक्ने श्रेष्ठको अनुमान छ।
“सामान्यतया वर्षात्को वेला कि त करेन्ट लागेर कि त उड्न नजानेका साना बचेरा मर्ने गरेका छन्,” पन्छीविद् श्रेष्ठ भन्छन्, “कुनै गम्भीर कारणले नै मरेको हो भने प्रयोगशालामा अध्ययन गर्नुपर्छ।”