चित्रकलामा मल्ल र शाहकाल (भिडिओ)
गोलीगट्ठा राखिने हनुमान्ढोकाको गोलघर यति वेला भने ऐतिहासिक कलाकृतिले सजिएको छ।
नेपालको राजनीतिक इतिहासमा मल्लकाल र शाहकालका केही घटना महत्त्वपूर्ण छन्। तिनैमध्ये केही घटना उतारिएका क्यानभास हनुमान्ढोका दरबार संग्रहालयको गोलघरमा हेर्न पाइने भएको छ।
राजा प्रताप मल्लले तलेजु भवानीसँग पासा खेलेको, होली खेलेको लगायत घटनालाई कलाकार हरिप्रसाद शर्माले क्यानभासमा उतारेका छन्। त्यस्तै, भक्कु भैरवको राँगावध लगायत सांस्कृतिक महत्त्वका घटनालाई कलाकार शर्माले कालजयी दृश्यावलीमा ढालेका छन्।
त्यस बाहेक राजनीतिक महत्त्वका ऐतिहासिक घटनामा पनि कलाकार शर्माले कल्पनशीलता देखाएका छन्। जंगबहादुर राणाले मच्चाएको कोतपर्व, पृथ्वीनारायण शाहको काठमाडौं हमला, जयप्रकाश मल्ल र पृथ्वीनारायण शाहको कूटनीतिक वार्ता लगायत १३ वटा घटनामाथि शर्माले कोरेका कलाकृति गोलघरमा प्रदर्शनमा राखिएका हुन्।
मल्लकाल र शाहकालको इतिहासलाई सशक्त ढङ्गमा प्रस्तुत गरिएका शर्माका कलाकृति हनुमान्ढोका दरबारसँग सम्बन्धित भएकाले प्रदर्शनीमा राखिएको दरबार संग्रहालयका प्रमुख सन्दीप खनाल बताउँछन्। “विगतमा गोलीगट्ठा लगायत सामान राखिने हनुमान्ढोका दरबार परिसरको गोलघरमा अहिले ऐतिहासिक कलाकृति प्रदर्शनी गरेका छौं,” खनाल भन्छन्।
मल्लकालदेखि नै हनुमान्ढोकामा राजदरबार रहेको थियो। त्यहीं नै सम्पूर्ण राजकीय गतिविधि हुने गरेका थिए। काठमाडौंमा निकालिने कैयौं जात्रा एवम् पर्वहरूको केन्द्र समेत रहेको हनुमान्ढोका दरबार सांस्कृतिक धरोहर समेत हो। हनुमान्ढोका दरबारको ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक महत्त्वले गर्दा २०३६ सालमा विश्वसम्पदा सूचीमा सूचीकृत भएको थियो।
यही दरबार परिसरको गोलीगट्ठा राखिने गोलघरलाई हनुमान्ढोकाको एक पर्यटकीय स्थलका रूपमा चिनाउने उद्देश्यले चित्रकला प्रदर्शनी गरिएको संग्रहालयका छायाकार सुनील डंगोल बताउँछन्। “यसअघि हनुमान्ढोकासँग सम्बन्धित दीर्घमान चित्रकार र गणेशमान चित्रकारका १०० पुराना तस्वीरलाई प्रदर्शनीमा राखेका थियौं,” डंगोल भन्छन्, “यस पटक हरिप्रसाद शर्माका चित्रहरू राखेका हौं।”
हनुमान्ढोकासँग सम्बन्धित कला, हस्तकला वा अन्य प्रदर्शनीयोग्य वस्तु दीर्घकालीन प्रदर्शनमा राख्ने नीति अनुसार शर्माको चित्रकला प्रदर्शनीमा राखिएको संग्रहालयले जनाएको छ। भदौ १ गतेदेखि शुरू भएको प्रदर्शनी ६ महीनासम्म चल्नेछ।
काठमाडौंको लगनस्थित गोफल टोलमा १९९४ सालमा जन्मिएका शर्मा ११ वर्षको उमेरबाटै क्यानभासमा रमाउन थालेका हुन्। किशोरवयमै कलाकार जीवरत्न शाक्यबाट चित्रकलाको प्रारम्भिक ज्ञान प्राप्त गरेका शर्माले कालिदास श्रेष्ठसँग पनि कला सिके। तत्कालीन जुद्धकला पाठशालामा कला विषयमा आईएसम्म औपचारिक पढाइ गरेका शर्मा पछि जागीरतिर लागे।
उनले शुरूआतमा घरेलु कार्यालयमा काम गरे। त्यसपछि पुरातत्त्व विभाग अन्तर्गतको राष्ट्रिय संग्रहालयमा आबद्ध भए। २०२२ सालदेखि २०४८ सालसम्म तत्कालीन शाही नेपाल वायुसेवा निगममा कलाकारका रूपमा काम गरेका थिए।
८६ वर्षीय शर्माका कलाकृतिलाई प्राचीन काठमाडौं उपत्यकाको चित्रात्मक अभिलेख सरह मानिन्छ। उनको चित्रकला नवपिंढीका निम्ति खँदिलो र कालजयी इतिहास हो।
उनका ऐतिहासिक कलाकृतिलाई समेटेर समयक्रममा नेपाल पुस्तक पनि प्रकाशित छ। पाँच खण्डमा विभाजित पुस्तकमा शर्माका १७७ कलाकृति समावेश छन्।