कोशी सरकार विरुद्धको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश
कोशी सरकार विरुद्ध परेको मुद्दामाथि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।
सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले कोशी सरकार विरुद्धको मुद्दा पूर्ण इजलासमा पठाउने आदेश दिएको हो। आइतबार रिटमाथि सुनुवाइ गर्दै संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने आदेश गरेको रिट निवेदकका तर्फबाट समन्वय गरिरहेका नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएका थिए। उनले विश्वासको मत लिंदा सभाध्यक्ष इस्माइल मन्सुरीले पनि मत दिएका थिए।
सभाध्यक्षले संविधान विपरीत मत दिएको भन्दै पूर्व मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले भदौ ५ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। त्यसमाथि भदौ ७ गते सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको थियो। कोशी सरकारलाई दीर्घकालीन महत्त्वका निर्णय नगर्न भनिएको थियो। यससँगै कारण देखाउ आदेश पनि दिएको थियो।
त्यसपछि रिटमाथि भदौ १५ गते न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा पेशी तोकिएको थियो। न्यायाधीश खतिवडाले हेर्न नमिल्ने भएपछि सुनुवाइ हुन सकेको थिएन।
आज फेरि यो रिटमाथि पेशी तोकिएको हो। न्यायाधीश मल्ल र माथेमाको इजलासले पूर्ण इजलासमा पठाउने आदेश गरेको छ। अब यस रिटमाथि पूर्ण इजलासमा निरन्तर सुनुवाइ हुनेछ।
९३ सदस्यीय कोशी प्रदेश सभामा विश्वासको मतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ। सत्तारूढ गठबन्धनमा रहेका नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १३, नेकपा (एकीकृत समाजवादी)का चार र जनता समाजवादीका एक गरी ४७ सांसद छन्।
त्यस्तै, विपक्षमा रहेका एमालेका ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ सांसद छन्। सिर्जना दनुवार एमालेबाट उपभासमुख बनेकी हुन्। उपसभामुख दनुवार बिरामी भएको भन्दै काठमाडौं गएकी थिइन् भने उनले अध्यक्ष मण्डलका सदस्य मन्सुरीलाई प्रदेश सभा सञ्चालन गर्न जिम्मेवारी तोकेकी थिइन्।
जसले गर्दा सत्तारूढ गठबन्धनका सांसद मन्सुरीले सभाको अध्यक्षता गर्दा ४६ सांसद मात्रै थिए। उनले पनि मत दिएपछि मुख्यमन्त्री थापाले विश्वासको मत पाएका थिए। सभाध्यक्षले मत दिन नपाउने भन्दै एमाले नेता कार्की सर्वोच्च पुगेका हुन्।
यसमाथि भदौ १८ गते पूर्ण इजलासमा पेशी तोकिएको छ।