नेपालको लगातार तेस्रो जित, भूटान तीन विकेटले पराजित
आईसीसी महिला टी-२० विश्वकप एशिया क्षेत्र छनोट खेलमा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ।
आइतबार भएको खेलमा नेपालले भूटानलाई तीन विकेटले पराजित गरेको हो। मलेशियाको क्वालालम्पुरस्थित युकेएम वाइएसडी रङ्गशालामा भएको खेलमा नेपालले भूटानलाई पराजित गरेको हो।
यससँगै नेपालले ६ अङ्क जोडेको छ। नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ।
नेपालले पहिलो खेलमा मलेशियालाई पाँच रनले पराजित गरेको थियो भने दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो।
भूटानले प्रस्तुत गरेको ४० रनको सामान्य लक्ष्य नेपालले १३.२ ओभरमा सात विकेट गुमाउँदै पूरा गरेको हो। नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित १२ रन बनाइन्।
भूटानका लागि अञ्जुली घलेले तीन, छिरिङ जाङ्मोले दुई तथा सोनम छोदेन र अञ्जु गुरुङले एक-एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भूटानले आठ विकेट गुमाएर ३९ रन बनाएको थियो। भूटानका लागि कप्तान डिचेन वाड्गमोले २१ रन बनाइन्।
भूटानलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि पूजा महतोले तीन विकेट लिइन् भने कविता कुँवर, खुसी डङ्गोल र रुबिना क्षेत्रीले समान एक-एक विकेट लिए।
नेपालले अब सोमबार कतारसँग खेल्नेछ।