वर्षाले खेल अवरुद्ध भएपछि भारत र पाकिस्तानले अङ्क बाँडे
पाकिस्तानले यसअघि पहिलो खेलमा नेपाललाई पराजित गरेकाले ‘सुपर फोर’ मा पुग्यो। भारतले भने सुपर फोरको यात्रा तय गर्न नेपाललाई हराउनुपर्नेछ।
सन् २०१९ को एकदिवसीय विश्वकप यता भारत र पाकिस्तान एकअर्का विरुद्ध ५० ओभरको खेलमा भिडेकै थिएनन्। हिजो भने जारी एशिया कपमा यी दुई परस्पर प्रतिद्वन्द्वीबीचको खेल थियो। तर, खेल नतीजाविहीन हुन पुग्यो।
वर्षाका कारण दोस्रो ‘इनिङ’ शुरू हुनै नपाई खेल रद्द भयो। भारतले पहिलो इनिङमा ४८.५ ओभर खेल्दै सबै विकेट गुमाएर २६६ रन बनाएको थियो। भारतका धुरन्धर ब्याट्सम्यान रोहित शर्मा र विराट कोहली पाकिस्तानी तीव्र गतिका बलरसामु टिक्नै सकेनन्। शर्मा ११ रनमा खेलिरहँदा शाहीनशाह अफ्रिदीको शिकार भए भने कोहली चार रनमा शाहीनकै बलमा आउट भए।
शुभमन गिल र श्रेयस ऐयरलाई ह्यारिस रउफले क्रमशः १० र १४ रनमा आउट गरे। यसपछि धरमराएको भारतीय ब्याटिङ सम्हाल्न आएका इशान किसनले र हार्दिक पाण्ड्याले भने विकेट जोगाउँदै ८२ र ८७ रन बनाए। किसन रउफको शिकार भए भने पाण्ड्या अफ्रिदीको।
धेरै पटक भारतको इनिङलाई सम्हालेका रवीन्द्र जडेजाले हिजो १४ रन मात्र बनाउन सके। उनी पनि शाहीनकै बलमा आउट भए। शार्दूल ठाकुर, कुलदीप यादव र जसप्रित बुमराह तीन, चार र १६ रन बनाएर आउट भए। उनीहरू अर्का तीव्र गतिका बलर नसीम शाहको शिकार भए।
२६७ रनको लक्ष्य पछ्याएको पाकिस्तान जवाफी ब्याटिङमा उत्रन नपाई खेल रद्द भयो। दुवै टोलीले एक-एक अङ्क बाँडे।
पाकिस्तानले यसअघि पहिलो खेलमा नेपाललाई पराजित गरेकाले ‘सुपर फोर’ मा पुग्यो। भारतले भने सुपर फोरको यात्रा तय गर्न नेपाललाई हराउनुपर्नेछ।
यता समूह ‘बी’ तर्फ आज बाङ्लादेश र अफगानिस्तान भिड्दै छन्। यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बाट शुरू हुनेछ। यो समूहमा बाङ्लादेशलाई हराउँदै श्रीलंका अहिले शीर्षस्थानमा छ।