सेजनमा नयाँ नेतृत्व चयन
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा सुजन ओली निर्वाचित भएका छन्।
काठमाडौंमा भदौ १६ गते सम्पन्न २५औं वार्षिक अधिवेशनबाट ओली ९९ मत सहित अध्यक्षमा निर्वाचित भएका हुन। उनका निकटतम प्रतिद्वन्द्वी शिरोमणि ढुंगानाले ९६ मत प्राप्त गरे।
त्यस्तै, उपाध्यक्षमा १३५ सहित विनय बन्जारा विजयी भए। बन्जाराका प्रत्याशी भागवत भट्टराईले ११५ मत प्राप्त गरे। महासचिवमा भने यसअघि नै विश्वास रेग्मी निर्विरोध निर्वाचित भइसकेका थिए।
सचिवमा दुई जना प्रतिस्पर्धीलाई पछि पारेर सोभित थपलिया निर्वाचित भए। थपलियाले १०६ मत प्राप्त गरे। कोषाध्यक्षमा अच्युत पुरी निर्वाचित भए।
पाँच सदस्यका लागि भएको निर्वाचनमा केशु लामिछाने १८८, हेमन्त जोशी १७९, ममता थापा १५६, छवि सापकोटा १२८ र वसन्तराज उप्रेती १४५ मत सहित निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। सेजनका २७१ सदस्यमध्ये २५२ जनाले मताधिकार प्रयोग गरेका थिए।